जन सरोकार

‘मिस्टर नेपाल’को उपाधि पाएपछि चिकित्सक सन्तोषको यस्तो दृढता

गोरो वर्णका हसिला २८ वर्षीय एक युवकले जैविक विविधताले भरिएका देशलाई अन्तरराष्ट्रिय तहमा चिनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजधानीमा आयोजित एक कार्यक्रममा चिकित्सा क्षेत्रमार्फत जनताको सेवा गर्दै आएका ‘मिस्टर नेपाल २०१९’को उपाधि विजेता डा सन्तोष उपाध्यायले दर्शक तथा सञ्चारकर्मीमाझ राखेका यी भनाइले जो कोहीलाई पनि प्रेरणा प्रदान गरेको थियो ।

सामान्यतः सौन्दर्यतासम्बन्धी हुने विभिन्न प्रतियोगिताका विजेतालाई इतिहास, भूगोल, राजनीति, समाज सेवाका प्रश्न सहज हुँदैन । मनोरञ्जनमा सीमित हुने, चलचित्र खेल्ने, पैसा कमाउन विदेशिनेजस्ता कार्यमा लाग्ने ती युवामाझ डा उपाध्याय फरक देखिनुभयो । अध्ययनमा अब्बल उहाँको अभिव्यक्ति र प्रस्तुति विगतका विजेताभन्दा केही जिम्मेवार देखिन्थ्यो ।

डा उपाध्याय अछाम मङ्गलसेन नगरपालिका–८ स्थित वली गाउँका स्थानीेयवासी हुनुहुन्छ । त्रिवि शिक्षण अस्पतालबाट छात्रवृत्तिमा चिकित्सा क्षेत्रमा स्नातक दुई वर्ष अगाडि पूरा गर्नुभएका उहाँ हाल ललितपुरको लुभू प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुनुहुन्छ । मिस्टर वल्र्ड अन्तरराष्ट्रिय प्रतियोगिताको मिति र स्थान निश्चित भएपछि उहाँ त्यसमा नेपालको प्रतिनिधित्व गरी सहभागी हुन जानु हुनेछ ।

डा उपाध्यायले सन् २०१४ मा आशाका किरण नामक सामाजिक संस्था स्थपना गरी सामाजिक कार्य गर्दै आउनुभएको छ । डाक्टर, इञ्जिनीयरलगायत प्राविधिक सहभागी उक्त संस्थामार्फत ३० वटा स्थानमा निःशुल्क स्वास्थ्य शिविर, भूकम्पपछि सिन्धुपाल्चोकको तत्कालीन दुवाचोर गाविसमा दोङ बस्तीमा १३ वटा घर निर्माणलगायत कार्य गरिएका छन् ।

एक्सपोज नेपालले १७ वर्षदेखि ३२ वर्ष ननाघेका २२ युवालाई सहभागी गराई आयोजना गरेको उक्त प्रतियोगितामा काठमाडौँ, धनगढी, बुटवल, पोखरा, विराटनगर, चितवन, धरानलगायतका प्रमुख शहरबाट छानिएका प्रतिस्पर्धीलाई स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयरलगायत प्रशिक्षण दिइएको थियो ।

सोही प्रतियोगितामा दोस्रो भएका दिलराज न्यौपानेले कला, साहित्य, दर्शनशास्त्रका माध्यमबाट पनि देश विकासमा योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो । तेस्रो भएका विमल पाण्डे कार्य व्यस्तताका कारण काठमाडौँ उपत्यका बाहिर रहेकाले कार्यक्रममा सहभागी हुन सक्नुभएन । चौथो भएका प्रिन्स चौधरीले प्रतियोगिताले राष्ट्र निर्माणका लागि केही गर्नुपर्छ भन्ने आत्मविश्वासको विकास भएको प्रतिक्रिया दिनुभयो ।

प्रतियोगितामा पाँचौँ स्थान हासिल गर्नुभएका अविनाश चौधरीले यस्ता प्रतियोगिताले नेतृत्व, व्यक्तित्व बढाउन सहयोग पु¥याउने हुँदा यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । सौन्दर्य भएका प्रतियोगिता (मिस नेपाल) मा किशोरी सहभागी हुँदा त्यसको चर्चा र समीक्षाले विशेष महत्व पाउने भए पनि मिस्टर नेपालले कम प्राथमिकता पाउने गरेको बताउँदै उहाँले प्रतिभाशाली भएर पनि समाजमा लुकेका व्यक्तिलाई खोज्न जरुरी रहेको बताउनुभयो । आयोजक एक्सपोज नेपालकी प्रमुख कार्यकारी अधिकृत अर्चना बस्नेतले युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले सन् २००१ देखि नियमित प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.