नक्कली सुनलाई सक्कली भनी कारोबार गर्ने तीनजना पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका १ बस्ने ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मिख्खु भन्ने मुक्तियार सिंह र सोही स्थान घर भएका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका छन् ।
उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको कोठा नम्बर ७ खानतलासी गर्दा लुकाई छिपाई राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ केजी ४ सय ग्राम नक्कली सुन फेला पारी शंकर बोहरालाई पक्राउ गरेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
यसै गरी काठमाडौं महानगरपालिका १ हात्तिसारस्थित फोकस डान्सबारमा भारत उत्तर खण्ड घर भएका गणेश सिंह बगडवाल लगायत ७ जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेको अभियोगमा ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही डान्सबारमा काम गर्ने ललितपुर भैंसेपाटी डेरा गरी बस्ने नुवाकोट त्रिशुली घर भएका २४ वर्षीय सनिगरु आचार्य, गोरखा घर भएका १९ वर्षीय सनिल मग्रराती, गोरखा घर भएका ३१ वर्षीय शिव थापा र मोरङ घर भएका १९ वर्षीय अभिषेक राई रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उक्त डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हाजर ९ सय २० नेपाली रुपैयाँ समेत प्रहरीले अनुसन्धानका लागि बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्