सुर्खेतमा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले कर्णाली प्रदेशको सुर्खेतस्थित पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा प्रहरीमाथि आक्रमण गरेको छ । चन्दका कार्यकर्ताले प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउण्ड फायर गरेको हो ।
विप्लवका जिल्ला नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले पनि दुई राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो ।
विप्लव समूहका जिल्ला स्तरीय नेता शाही घरमा आएको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । घर नपुग्नै जंगलमा शाहीसँगै आठदेखि १० जना विप्लवका कार्यकर्ताले प्रहरी टोलीमाथि आक्रमण गरेपछि दुई राउण्ड जवाफी फायरिङ गर्नुपरेको एसपी पन्तले बताउनुभयो ।
शाही घरमा आएको सुराकीका आधारमा रिभल्वरसहित इलाका प्रहरी कार्यालय बाबियाचौरबाट दुईजना प्रहरीहरु सादा पोषाकमा खवर संकलनका लागि गए र प्रहरीलाई देख्नेवित्तिकै विप्लव समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीले बताउनुभयो । उहाँले अहिले जंगल क्षेत्रमा सर्च अभियान चलाइरहेको प्रहरीतर्फ केही क्षति नभएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्