राजनीति

युवा विद्यार्थी एकजुट भएर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्छ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता पाएको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई फिर्ता ल्याउन फेरि युवा विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उहाँले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताउँदै युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत विभिन्न क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सबै नेपाली जुट्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “स्वाभिमानी पुर्खाको विरासतलाई जोगाइराख्न अहिलेको पुस्ता गम्भीर बन्नु जरुरी छ ।”

उहाँले अहिले शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित केही राष्ट्र तत्कालीन समयमा अन्य राष्ट्रको उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र रहेको स्मरण गराउनुभयो । राष्ट्रियता कमजोर हुने सवालमा नेपालीले कसैसँग पनि सम्झौता नगर्ने उहाँले जिकिर गर्नुभयो । श्रेष्ठले वर्तमान सरकारले औपचारिकरुपमा भारतलाई पत्र लेखी अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा पहलकदमी अघि बढाएकाले समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।

दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकार सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणको अभियानमा लागेको बताउँदै उहाँले कृषि, पर्यटन र जलविद्युतका माध्यमबाट समृद्धिको अभियानले सार्थकता पाउने धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारले नागरिकले अनुभूति गर्ने ढङ्गले विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने बताउनुभयो ।

“निरङ्कुश राज्य व्यवस्थाका कारण नागरिकले धेरै दुःख पाए”, उहाँले भन्नुभयो, “स्थायी सरकारको काँधमा विकास गरेर प्रमाणित गर्ने जिम्मेवारी आइलागेको छ ।” उहाँले व्यावसायिक र प्राविधिक शिक्षाले बेरोजगारी समस्या हल हुने भन्दै शैक्षिक गुणस्तरका विषयमा आफूले शिक्षामन्त्रीसँग पटकपटक बहस गर्ने गरेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button