जन सरोकार

दार्चुलाका निर्माणाधीन योजनाबारे आयोगको चासो

राष्ट्रिय योजना आयोगले दार्चुलामा सञ्चालन भएका योजना तथा आयोजनाबारे अन्तक्र्रिया कार्यक्रम गरेको छ । जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, सुरक्षा निकाय लगायतसँग आयोगले अन्तक्र्रिया गरेको हो । नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित अन्तक्र्रियामा जिल्लामा निर्माणाधीन योजना, आयोजनाका बारेमा आयोगको टोलीलाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको योजना आयोजनाको अवस्था र गर्नुपर्ने कामबारे जानकारी लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर लगायतको टोली पठाएको हो । केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणबारे छलफल गरिएको कांग्रेसका नेता हरेक विष्टले बताउनुभयो ।

छलफलमा दार्चुलाका आधादर्जन योजनाको हालको अवस्था र गर्नुपर्ने कामबारे कांग्रेस पार्टी सभापति ललितसिंह बोहरा, नगर प्रमुख हंशराज भट्ट, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की र जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले जानकारी गराउनुभएको छ ।

छलफलमा महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडक, विटुले पारिबगड खण्डेश्वरी सडक, जोलजीवि शेरा सडक, महाकाली तडबन्ध, अपि नाम्पा संरक्षण क्षेत्र, गोकुलेश्वर विमानस्थललगायत काममा बजेट बढाउनुपर्ने माग राखिएको विष्टले बताउनुभयो । यी निर्माणाधीन योजना तीव्ररूपमा बढाउनुपर्ने, सुदूरपश्चिमकै प्रधानमन्त्री भएको हुँदा बजेटमा सुदूरलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी कार्यान्वयन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।

दार्चुला तिङ्कर सडक अनुगमन

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर लगायतको टोलीले निर्माणाधीन महाकाली लोकमार्ग, दार्चुला तिङ्कर खण्डको अनुगमन गर्नुभएको छ । जिल्लाको विकास निर्माणको अवस्थाबारे जानकारी लिन दार्चुला पुग्नुभएका टोलीले दार्चुला तिङ्कर सडकखण्डको निजाङगाड खोलासम्म स्थलगत अनुगमन गर्नुभएको हो । आव २०६५/६६ बाट निर्माण सुरु भएको यो सडकखण्डमा चालू वर्षमा ठेक्का लगाउनुपर्ने सडकको अवस्था र गर्नुपर्ने कामबारे स्थलगत निरीक्षण गरेको दार्चुला तिङ्कर सडक योजना प्रमुख आशुतोषकुमार कर्णले बताउनुभयो ।

महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडकखण्ड पछिल्लो समय कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोडिएको छ । जसमध्ये यो वर्ष बहुवर्षीय ठेक्का लगाउने गरी फाइल अर्थ मन्त्रालयमा पेश गरिएको छ । बहुवर्षीय ठेक्का लगाउन हुने नहुने लगायतका विषयमा जानकारी लिन टोलीले स्थलगत निरीक्षण गरेको हो ।

योजनाले बहुवर्षीय ठेक्का लगाउन डडेल्धुरामा २७ किलोमिटर, बैतडीमा ३० किलोमिटर सडकखण्डको ट्रयाक खुलाउने जनाएको छ भने दार्चुला खलङ्गादेखि सुनसेरासम्मको ३४ किलोमिटर सडकखण्डसम्म स्तरोन्नति गर्ने गरी फाइल मन्त्रालयमा पेश गरिएको योजना प्रमुख कर्णले बताउनुभयो ।

सडक निर्माणमा भइरहेको ढिलाइका कारण यो वर्ष पर्याप्त बजेट माग गर्दै बहुवर्षीय ठेक्का लगाउने तयारी गरिएको हो । चालू वर्षमा साढे ११ किलोमिटर सडक खण्डको ट्रयाक खुलाइएको छ । चालू वर्षमा महाकाली लोकमार्ग दार्चुला तिङ्कर सडकका लागि कूल रु ८० कोड बजेट विनियोजन गरिएको छ ।

कञ्चनपुरको ब्रह्मदेखि दार्चुलाको त्रिदेशीय नाका तिङ्कर जोड्ने गरी निर्माण भएको सडक ढिलाइका कारण ८७ किमी सडकखण्ड नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ । व्यास गाउँपालिका दुई कोठे धारदेखि तिङ्करसम्मको ८७ किमी सडकखण्डमा चालू वर्षदेखि नेपाली सेनाले सडक निर्माणको काम सुरु गरेको छ । बाँकी सडकखण्डमा सडक योजनाले काम गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button