जन सरोकारस्वास्थ्य

पुस मसान्तभित्र सबै नागरिकलाई खोप !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पुस मसान्तभित्र सबैलाई खोप लगाउन प्राथमिकता राखिएको बताउनुभएको छ । उहाँले पुस मसान्तभित्र खोप लगाउनका सबैलाई आव्हान समेत गरिने जानकारी दिनुभएको छ ।

शनिबार उहाँले पुस समान्तभित्र सबैलाई खोप लगाउनका लागि प्रत्येक दिन पाँच लाख नागरिकलाई खोप लगाउन सक्ने क्षमता सरकारले विस्तार गरेको र कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम पनि बढेकाले सबैलाई खोप लगाइने पनि बताउनुभयो ।

अहिलेसम्म नेपालको जनसङ्ख्याको ४६ दशमलव दुई प्रतिशतले पहिलो मात्रा र ३४ दशमलव दुई प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् ।

बाह्र वर्षदेखि माथिका तीन करोड तीन लाख ७८ हजार ५५ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार ९२७ मात्रा खोप आइसकेको छ ।

उहाँका अनुसार कति प्रदेशमा धेरैले खोप लगाइसकेको र केही प्रदेशमा भने कमले खोप लगाएकाले खोप अभियान सञ्चालन गरेर खोप लगाइने छ ।

ओमिक्रोन भाइरसबाट बच्नका लागि मास्क, सेनिटाइजर प्रयोग गर्दै भौतिक दुरी कायम गर्ने र खुला ठाउँमा बस्नेजस्ता कार्य गर्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले सबैलाई कोरोना भाइरस छैन भनेर ढुक्कसँग नबस्न पनि आग्रह गर्नुभयो ।

डा पोखरेलले ओमिक्रोन भाइरस चाँडै फैलिने भएकाले रोकथाम र नियन्त्रणका लागि सरकारले तयारी गरिरहेको र यसका लागि भारतीय सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको परीक्षण दायरा बढाउनुका साथै अस्पालतको क्षमता विस्तार गर्न थालिएको जानकारी दिनुभयो ।

“कोभिड–१९ कम भएपछि हामी आरामदायी तरिकाले बसेका थियौँ”, उहाँले भन्नुभयो, “अब पहिल्यैकै अवस्था आउन सक्छ भनेर हामीले अस्तालका सघन उपचार कक्ष (आइसियु), हाइडिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर र अक्सिजन अस्पतालमा कुन अवस्थामा रहेका छन् भनेर हेरिरहेका छौँ । तिनलाई पूर्णरुपमा सञ्चालन गर्नका लागि तयारी अवस्थामा राख्नेछौँ ।”

दश दिनभित्र बालबालिकालाई फाइजर खोप

सचिव डा पोखरेलले आगामी १० दिनभित्र काठमाडौँ उपत्यकासहित आठ जिल्लामा फाइजर खोप बालबालिकालाई लगाइने जानकारी दिनुभयो । सरकारले यही पुस १३ गतेदेखि फाइजर खोप लगाउने भने पनि अन्तर्राष्ट्रिय बजारमा सिरिन्ज अभाव भएको र आगामी मङ्गलबारसम्म सिरिन्ज नेपाल आइसक्ने जनाएकोे छ ।

बुस्टर डोज पनि चाँडै

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गर्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र एचआइभी सङ्क्रमितलाई, भेरोसेलको दोस्रो मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई थप एकमात्रा सोही खोप प्रदान जानकारी दिनुभयो । खोप लगाएको तीन महिनापछि जुन खोप लगाइएको हो त्यही नै खोप दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button