जन सरोकार

नेपाल एकीकरण गर्न पृथ्वीनारायण शाह काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा

नेपाल एकीकरणको सुरुवात गर्दै पृथ्वीनारायण शाह र उहाँका सेना हिंडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

शुक्रबार ऐसितहासिक गोरखा दरबारको हनुमान भञ्ज्याङदेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले शुक्रबारबाट पदयात्रा शुरु गरेको हो । सो पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ । जुन दिन राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती पर्दछ ।

नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा लिएर बाजागाजासहित ४० जनाको टोली राष्ट्रिय झण्डा, टर्चसहित पदयात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्ज्वल केसीले जानकारी दिनुभएको छ । केसीका अनुसार टोली गोरखाको जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ हुँदै शुक्रबारै बोर्लाङघाटमा बास बस्छ । ‘गोरखाबाट गएको टोलीले अपराह्न साढे चार बजे धादिङको देवीदत्त गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ, त्यहाँबाट नुवाकोटसम्म देवीदत्त गणकै टोलीले बाजागाजासहित झण्डा र टर्च नुवाकोट पुर्‍याउँछ ।

गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दुरी २६ कोष रहेको छ । धादिङको टोलीले उक्त टर्च र झण्डा नुवाकोटको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ । काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ । नुवाकोटको टोलीले बुझाएको टर्च र झण्डा लिएर काठमाडौंको पल्टन पृथ्वी जयन्तीको दिन पुस २७ गते सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुनेछ ।

पदयात्रामा निस्किएको टोलीमा पृथ्वीनारायण शाहकालीन पोशाक लगाएका सेनाहरु पनि सहभागी छन् । टोलीको नेतृत्व रणसिंह दल गणका क्याप्टेन इन्द्रबहादुर खत्रीले गर्नुभएको छ । पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको गणपति केसीले बताउनुभयो । पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको अपेक्षा छ ।

पदयात्रा शुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । नेपाली सेनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा क्याप्टेन खत्रीलाई टर्च र झण्डा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै त्यस्तै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सेनाले शुरु गरेको पदयात्राले राज्य एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदानको पनि स्मरण गराएको बताउनुभयो । त्यस्तै पृतनापति भण्डारीले पदमार्ग, कोट, गणी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउँदै नयाँ पुस्ताले बिर्संदै गएको इतिहासलाई यो कार्यक्रमले ताजा बनाइदिएको बताउनुभयो ।।

त्यस्तै गोरखा नगरपालिकाका प्रमुख पन्तले इतिहास जर्गेनाका लागि नेपाली सेनासँग समन्वय गर्न तयार रहेको बताउनुभयो भने भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले एकीकरण पदमार्ग अन्तरगत आफ्नो पालिकामा पर्ने क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले ऐतिहासिक पदमार्ग संरक्षण र सम्वद्र्धनमा स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनुभयो ।

मुलुकमा परम्परागत राजनीतिक व्यवस्था परिवर्तन भएपछि आफूलाई क्रान्तिकारी देखाउन नेपाल एकीकरणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक समेत फुटाउने र ढाल्ने काम भयो, सरकारले पुस २७ गते मनाउँदै आएको पृथ्वीजयन्ती तथा एकता दिवस बन्द गर्‍यो अनि पृथ्वीनारायण शाहप्रति देशी विदेशी शक्तिबाट नकारात्मक प्रचार सुरु भयो ।

तर समयक्रममा सरकारले पृथ्वी जयन्तीलाई औपचारिक रुपमा मनाउने थाल्यो र उहाँले नेपाल एकीकरणका लागि गरेको त्याग, संघर्षको प्रशंसा गर्न थाल्यो । हिजो शालिक तोड्नेहरु पनि पृथ्वीनारायण शाहको प्रशंसामा सक्रिय भए । अहिले नेपाली सेनाले सुरु गरेको यो अभियानले राष्ट्रिय गौरब झल्काउने मात्र हैन नेपालको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्नेछ ।

मुलुकले नेपाल भ्रमण वर्षको औपचारिक सुरुवात गरिसकेको सन्दर्भमा नेपाल एकीकरण अभियानका मार्ग र युद्धस्थलहरुलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिनेछ ।

सम्बन्धित खबर

Back to top button