भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित
विगत एक हप्तायता कोरोना संक्रमित बढ्दै गएको भारतमा त्यो क्रम आज पनि जारी रह्यो । मंगलबार गत २४ घण्टामा थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४६ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।
संक्रमण बढ्दै गएपछि भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गर्नुभएको थियो ।
यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ ।उता भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरुमा निकै अनियन्त्रित रुपमा बढिरहेको बताइएको छ । नयाँ सङ्क्रमितहरुको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको संकेत दिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।
भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र २२१ जना ओमिक्रोन भेरियन्टका सङ्क्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन सङ्क्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ सङ्क्रमितको संख्यामा ५०० प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
यहाँका स्वास्थ्य सम्बन्धी अधिकरीहरुले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै संक्रमितहरु आउने अनुमान गरिएको बताएका छन् ।अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्