जन सरोकार

दुई महिनादेखि सरकारको बाटो कुर्दै पाँचथरका बाढीपहिरो प्रभावित

सरकारले क्षतिपूर्ति दिन्छ भनेर प्रधानमन्त्रीलाई भेट्न गए, तर भेट्न र बोल्न समेत दिइएन

गत कात्तिक २ गते अविरल वर्षापछि झरेको पहिराले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाका मनकुमार योङहाङको गोठ बगायो । गोठमा रहेका चार माउ गाई र एउटा कोरली पहिरोमा पुरिए ।

पहिराको त्रास बढेपछि योङहाङको परिवार नजिकैको विद्यालयमा आश्रय लिएर बस्यो । एक सातासम्म विद्यालयमा रहेपछि पहिराको त्रास कम हुँदै गयो । त्यसपछि योङहाङ परिवार घर त फर्कियो तर आम्दानीको बाटो बन्द भइसकेको थियो ।

योङहाङ परिवारको आम्दानीको मुख्य माध्यम नै दूध बिक्री थियो । “त्यतिखेर १० लिटर दूध बेच्दै थियौँ । बाँकी तीन वटा गाई ब्याउन लागेका थिए”, योङहाङले भन्नुभयो, “यतिबेला ३५ लिटर दूध बेच्दै हुन्थेँ । तर विधाताले ठगेका होलान् ।” पहिराले खेतबारी क्षतविक्षत भएपछि खेती लगाउने स्थिति छैन ।

यहाँ मकै र आलु खेती हुन्छ तर मकै पाक्न १० महिनामा लाग्छ । “अरु जागिर–सागिर थिएन । दूध बेचेर नानीहरु पढाउने, आफू पनि पालिने गरिन्थ्यो”, योङहाङले भन्नुभयो, “ऋणको ब्याज पनि तिर्दै थिएँ, अब कसरी ऋण तिर्ने भन्ने टुङ्गो छैन ।”

पहिरामा परी योङहाङ परिवारका मात्रै छ लाख मूल्य पर्ने गाई मरेका थिए । दूध बेचेर बचाएको अलिअलि पैसा अहिलेसम्म खर्च गर्दै सकिएपछि योङहाङ परिवार सरकारको बाटो कुरेर बसेको छ ।

“अब गाई किन्न पैसा छैन । अहिलेसम्म कुनै सहयोग वा क्षतिपूर्ति पाएका छैनौँ”, योङहाङले भन्नुभयो । क्षतिपूर्ति पाउने आशामा योङहाङसहित स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा क्षतिको विवरण पेश गरेका थिए । बाढीपहिराबाट प्रभावित क्षेत्र अवलोकनमा आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनीहरु राँके बजार नपुगेका पनि होइनन् ।

“सरकारले क्षतिपूर्ति दिन्छ भन्ने सुनेर प्रधानमन्त्रीलाई भेट्न गएका थियौँ तर हामीलाई भेट्न र बोल्न समेत दिइएन”, योङहाङले भन्नुभयो । अहिले जीविका चलाउन समस्या परेको त छ नै, आउँदो वर्षायाममा पुनः पहिरो झरेर गाउँबाटै विस्थापित हुनुपर्ला कि भन्ने चिन्तामा स्थानीयवासीले दैनिकी गुजारिरहेका छन् ।

गत कात्तिक २ गते बेमौसमी वर्षापछि पहिरो जाँदा फाल्गुनन्द–३ निबुखोलाका हर्कबहादुर नेम्वाङको घरबाहेक सबै कुरा बगायो । “खेतीपाती गर्ने ठाउँ छैन । घर मात्रै टक्रक्क उभिएको छ”, नेम्वाङले सुनाउनुभयो, “पहिरो पुङपुङ झ¥यो । सुँगुर र कुखुरा पहिरोमा बगे । अब पानी परेपछि घरमा बस्न सक्ने अवस्था छैन ।”

प्रभावितले पहिरामा भएको क्षतिको विवरण मुचुल्का बनाई जिल्ला प्रशासनमा पेश गरेका छन् तर अहिलेसम्म राहत, क्षतिपूर्ति वा सहयोग आउनु त परैको कुरा सहयोग पाउनेबारे कुरा हुन छाड्दा पहिरो प्रभावित निराश छन् ।

“नेताहरु आएर सबै घुमेर हेरे । तिमीले क्षतिपूर्ति पाउँछौ, जिल्ला प्रशासन कार्यालयबाट पेश गर्नु भनेका थिए । तर खोइ ?”, नेम्वाङले प्रश्न गर्दै भन्नुभयो “प्रधानमन्त्री आए, तर क्षतिपूर्ति आएन । त्यहीँ मन्त्री देखाउनलाई मात्रै आएका थिए होला ।” प्रधानमन्त्रीले स्थलगत निरीक्षण गरेको दुई महिना बितिसक्दा पनि सहयोग नपाउँदा उनीहरु निराश बनेका हुन् ।

फाल्गुनन्द–३ गुम्बाडाँडाकै टङ्कबहादुर तामाङको परिवार यति बेला पहिरामा पुरिएको भान्साघर र गोठका सामग्री निकाल्न उत्खननमा व्यस्त छ । पहिरोमा तामाङको गाई र सुँगुर पुरिएका थिए तर अहिलेसम्म कुनै सहयोग नपाएको तामाङ बताउनुहुन्छ । योङहाङ, नेम्वाङ र तामाङ जस्तै फाल्गुनन्द–३ का मात्रै ३२ घरमा बाढी र पहिराले क्षति पु¥याएको छ । यहाँका दुई जना मृतकका परिवारले रु दुई लाखका दरले राहत पाउनुबाहेक बाढीपहिरो प्रभावित कसैले पनि कुनै सहयोग पाएका छैनन् ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ भने बाढीपहिराका प्रभावितलाई मल्हमपट्टी लगाउने सोच बनाइने बताउनुहुन्छ । “सानो रकम भए पनि सहयोग गर्ने सोच बनाए पनि दिन सकेका छैनौँ”, कुरुम्बाङले भन्नुभयो । विस्थापितलाई घर निर्माणका लागि तीन तहका सरकारको साझेदारीमा रकम दिने परिपत्र आएपछि गाउँपालिकाले दिनसक्ने राहत पनि रोक्नुपरेको उहाँले बताउनुभयो ।

“फाल्गुनन्दमा मात्रै १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । तीन सय बढी घर अति जोखिममा छन् । सयौँ पशुचौपाया मरेका थिए”, कुरुम्बाङले भन्नुभयो, “सहयोग र क्षतिपूर्ति दिन धेरै बजेट आवश्यक पर्छ । बाली, खेतबारीलगायतमा भएको क्षतिको त हिसाब गरेर सक्ने अवस्था नै छैन ।”

अध्यक्ष कुरुम्बाङ बजेट अभावले क्षतिपूर्ति उपलब्ध गराउन कठिन पर्ने बताउनुहुन्छ । तर गाउँपालिकावासी समस्यामा गुज्रिरहँदा गाउँपालिका भने तालीम र गोष्ठी सञ्चालनमै व्यस्त छ । बाढी र पहिरोको प्रकोपपछि न त गाउँपालिकाले बजेट रकमान्तर गरी स्रोतको व्यवस्था गरेको छ, न माथिल्ला सरकारसँग प्रभावकारी पहल नै ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button