बिपीको मेलमिलाप र कांग्रेसजनहरुको बेमेल
नेपाली कांग्रेसले हालै महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले शेरबहादुर देउवालाई पुनः सभापतिमा निर्वाचित गर्यो । महाधिवेशनपछि उहाँले पार्टी एकतालाइ जोड दिनुभयो, जुन पहिलेदेखि नै भन्दै आउनुभएको थियो । त्यस्तै देउवालाई चुनौति दिएका नेताहरु पनि एकताकै कुरा गर्छन्, तर गुटगत भेला गरेर संस्थापन (नेतृत्व)बिरुद्ध मोर्चा कस्छन् ।

मुखमा रामराम बगलीमा छुराको शैलीमा कांग्रेस नेताहरु एउटै छानामुनी अेनक समूहमा विभक्त भएर एकता र मेलमिलापको नारा घन्काइरहन्छन् । आपसमै नमिलेकाहरुले राष्ट्रिय एकता र मेलमिलापको कुरा भने चर्का नै गर्छन् । बेमेलको रापकाबीच कांग्रेसहरुले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाए ।
जब भारतले सिक्किम निल्यो– पंचायतबिरुद्ध भरतमा बसेर आन्दोलन गरिरहनुभएका प्रथम जननिर्वाचत प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला व्यवस्थाभन्दा देश पहिला भन्दै “राष्ट्रिय एकता तथा मेलमिलाप”को नीति लिई स्वदेश फर्कनुभएको थियो । देशको सार्वभौमसत्ता संरक्षणका लागि “राजासंग आफ्नो घाँटी जोडिएको छ” भन्दै बिपीलगायत नेता ज्यानको बाजी थापेर स्वदेशमै फर्कनुभयो ।
देशको स्वाधीनता रक्षार्थ बिपीले प्राणको बाजी लगाएर मेलमिलापको नीतिसहित स्वदेश फर्कनुभएको थियो । विसं २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो । कोइरालाले आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर स्वदेश फर्कनुभएको थियो ।
२०१५ सालमा सम्पन्न प्रथम आमनिर्वाचनबाट दुई तिहाई बहुमतसहित बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर, विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कू’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गर्नुभएको थियो ।
त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएकोदेखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई ४५ वर्षअघि पुस १६ गते उहाँलगायत नेता नेपाल फर्कनुभएको थियो ।
प्रजातन्त्रका लागि देशभित्रैबाट संघर्ष गरौंला, तर पहिलो देश बच्नुपर्छ भन्ने मान्यताका साथ बिपी स्वदेश फर्कनुभयो तर उहाँका अनुयायीहरुले भारतकै निर्देशन र दवावमा परी हुने नहुने सबै सम्झौता गरेर राष्ट्रियता कमजोर पारेको सन्दर्भ निकै बिझाउने गरेको छ । अहिले कांग्रेसका नेताहरु बिपीको ‘राष्ट्रिय एकता तथा मेलमलाप नीति’को औचित्य बदलिएको भन्दै देशको स्वाधीनताभन्दा आफूहरुको सत्ता महत्वपूर्ण रहेको सन्देश दिइरहेका छन् । त्यसैले त मेलमिलाप दिवस मनाउने नेताहरु नै बेमेलमा छन् ।
कांग्रेसीहरु नै एकताबद्ध हुन नसकेको र अरुको बुई चढेर सत्ता शिखरमा पुग्न र आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै सम्झौता गर्न तयार हुनेले बिपीको मेलमिलापको नीतिको स्मरण गर्नु नैतिक रुपमा कति जायज होला ? प्रश्नको उत्तर कांग्रेसीहरुले दिनुपर्छ । देशको स्वाधीनता व्यवस्थाभन्दा ठूलो हो । राजनीतिक व्यवस्थाभन्दा पहिला देश हुनुपर्छ भन्ने बिपीको सिद्धान्त न उहाँका भाइले पालना गरे, न छोरा भतिजाहरुले नै !
अहिले बिपीको सन्तानहरु नै एकढिक्का हुन सकेका छैनन् । उनीहरु आआफ्नै कसरी शक्तिमा पुग्ने भन्ने प्रतिस्पर्धामा छन् भन्ने प्रमाण सम्पन्न १४ औं महाधिवेशनमा पनि देखियो । बिपीका अनुयायी नेपाली कांग्रेसभित्रभन्दा बाहिर बढी छन्, जसको राजनीतिक दलभित्र खासै पहुँच र शक्ति छैन । बिपीले जीवनको उत्तराद्र्धमा देश, जनता र प्रजातन्त्रका पक्षमा दिनुभएको अभिव्यक्ति र लिनुभएको अडानले उहाँलाई ‘महामानव’मा परिणत त ग¥यो तर उहाँकै पार्टीले भने ती सबै सिद्धान्त, नीति, कार्यक्रम धुलिसात गरेर कमजोर बनायो, आ–आफै अस्वस्थ प्रतिस्पर्धा गरेर नीति हैन नेता हुनुपर्छ भन्ने गलत अभ्यासलाई स्थापित गरे ।
आफूहरु नै मिल्न नसकेका कांग्रेसहरु राष्ट्रिय मेलमिलाप कसरी कायम गर्छन् ? अनि बिपीले राष्ट्रिय मेलमिलापको नीति कुन विषयलाई जोडेर लिनुभएको थियो त्यतातिर पटक्कै चासो दिने गरेका छैनन् । बिपीको नाम बेचेर त्यसको नाफा खाइरहेका छन् । राट्रिय मेलमिलापको नीति केवल सत्ता प्राप्तिमा सीमित छ भने ‘प्रजातान्त्रिक समाजवाद’को नीतिका दस्तावेज धमिराको गुँड बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्