दक्षिण अफ्रिकामा देखापरेको कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनका संक्रमित अहिलेसम्म तीनजना मात्र फेला परे पनि छिमेकी देश भारतको नेपालसंग सीमा जोडिएका क्षेत्रमा समुदायस्तरमै फैलिएका कारण जोखिम बढेको छ ।

चिकित्सकहरूले नेपालमा ओमिक्रोन फैलिइहाले कोभिड–१९ को दोस्रो लहरमा भन्दा बढी सङ्क्रमित हुनसक्ने आकलन गर्दै यसबाट बच्न नआत्तिएर स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको नयाँ ओमिक्रोन फैलिन सक्ने भएकाले सचेत हुन सुझाव दिएको छ । महाशाखाले ओमिक्रोन फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यही बेला ओमिक्रोन फैलिन्छ भनेर भन्न नसकिने तर भारतमा फैलिँदा नेपालमा पनि फैलिन सक्ने सम्भावना भने रहेको बताउनुभयो ।
यसअघि दोस्रो लहरमा बढीमा एकै दिन नौ हजार दुई सय जना सङ्क्रमित थपिएका थिए । दोस्रो लहरमा दैनिक एक सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस बेला अस्पतालहरूमा सहज रूपमा शय्या, अक्सिजन, आईसीयू र भेन्टिलेटरसमेत पाउन मुस्किल भएको थियो ।
यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले पुस र माघभर ओमिक्रोन फैलिन सक्ने सम्भावना कम रहेको बताउनुभयो । उहाँले अन्य देशमा पनि ओमिक्रोनको स्थिति हेर्दा अत्यधिक रूपमा सर्ने तर मानिसलाई अस्पतालको शय्या कम आवश्यक पर्ने र मृत्यु पनि कम गराउने भएकाले डराउनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।
उहाँले सरकारको भनाइ र गराइ फरक हुने गरेको भन्दै सरकारले गरेको आकलन नेपालमा मेल नखाने बताउनुभयो । जाडोभर कोरोनाको लहर नआउने भन्दै उहाँले फागुनबाट भने कोरोनाको अर्को लहर आउन सक्ने बताउनुभयो ।
ओमिक्रोनले अस्पताल बस्ने र मृत्यु कम हुने गरेको भन्दै उहाँले ओमिक्रोनभन्दा अन्य प्रजाति आएको अवस्थामा भने सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।
अमेरिका, बेलायत, भारतलगायतका देशमा पनि अहिले दैनिक दुई, तीन लाख जनामा ओमिक्रोन देखिएको भन्दै उहाँले सङ्क्रमणअनुसार अस्पतालमा भर्ना हुनुपर्ने अवस्था र मृत्यु नभएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले देशभरका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भित्रिन नदिन पूर्वतयारीसाथ सात बुँदे निर्देशन जारी गरेको जानकारी दिनुभयो ।
उहाँले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोनको सङ्क्रमण भित्रिन र फैलिन नदिन प्रभावकारी उपाय अपनाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेको उल्लेख गर्नुभयो । जनस्वास्थ्य मापदण्डको पूणपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेन परीक्षण गर्न तथा पहिचान भएका सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टाइन तथा कोरोना परीक्षण गर्नसमेत आग्रह गरिएको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ओमिक्रोन फैलिन सक्ने सम्भावनालाई नकार्न नसकिने बताउनुभयो । उहाँले सीमा नाकाबाट आउने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नुपर्ने, खोप लगाउन छुटेका पहिचान गरी खोपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्