जन सरोकार

विभिन्न दुर्घटनामा परी तीनजनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२७प २१९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१०२००१ख ८१९६ नंको बसले ठक्कर दिँदा मोटसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । सवारीसाधन र बसचालक इटहरी–४ का ४४ वर्षीय टीकाराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

यसै गरी कैलालीमा गए राति ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–६ जाली बस्ने ३६ वर्षीय वीरबहादुर चौधरीले चलाएको रा१त ४६५३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्री भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताउनुभयो । ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button