नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । यसअघि तीनजनामा पुष्टि भएको थियो ।
नेपालमा गत मंसिर २० गते पहिलोपटक ओमिक्रोन पुष्टि भएको थियो । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रा मिश्राले एक विज्ञप्ति जारी गरी पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
त्यसै गरी उहाँले ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो ।
त्यसै गरी ओमिक्रोन छिटो फैलने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, मास्क लगाउन, हात धुन र भीडभाडमा नजान पनि विज्ञप्तिमार्फत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्