आज भारतमा एक लाख १७ हजार संक्रमित, ओमिक्रोनबाट एक महिलाको मृत्यु
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् ।

त्यसै गरी भारतमा ओमिक्रोन संक्रमणबाट आज पनि एकजनाको मृत्यु भएको छ । एक ५२ वर्षीय महिलाका सम्बलपुरस्थित वीर सुरेन्द्रर्सा आयुर्विज्ञान एवं अनुसन्धान संस्थानमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो पनि एक पुरुषको मृत्यु भएको थियो ।
हाल भारतमा तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका छन् । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७१ हजार ३६३ रहेका छन् ।
गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७।५७ प्रतिशत रहेको जनाइएको छ ।
सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्