कस्तो होला रमेश खरेलको राजनीतिक यात्रा ?
प्रहरी सेवामा रहँदा सच्चा प्रहरीको छवी बनाएर चर्चामा आउनुभएका रमेश खरेल राजनीतिकरणकै कारण प्रहरी महानिरीक्षक बन्न नपाएको उहाँ स्वयं र अरु धेरैको आरोप छ ।

पदमा रहँदा नेताहरुका सामु “प्रहरीमा बढुवा खुलेको छ बेइमानहरु ब्रिफकेस बोकेर आउलान, होसयार हुनुस् नेताज्यूहरु” भन्ने हिम्मत राख्ने खरेल मुलुकमा सुशासन कायम गरी विकास गर्न राजनीतिलाई पेशा बनाउन नहुने मान्यता राख्दै राजनीतिक दल समेत दर्ता गर्नुभएको छ “नेपाल सुशासन पार्टी” ।
केही दिन अघि निर्वाचन आयोगबाट सो दलले दर्ताको प्रमाणपत्र पाएको छ । देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि पार्टी गठनको घोषणा भएको थियो । सो पार्टीका अध्यक्ष पूर्व डआईजी रमेशप्रसाद खरेल हुनुहुन्छ ।
राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा दृढ मत राख्दै आएको सो पार्टीले अध्यक्ष खरेलको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ । पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शङ्करलाल श्रेष्ठ र टुलराज बस्याल रहनुभएको छ भने महासचिवको जिम्मेवारी गोविन्द गिरीले पाउनुभएको छ ।
केन्द्रीय कार्यसमितिको सचिवमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट तथा कोषाध्यक्षमा भक्तबहाुदर केसी र सहकोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहनुभएको छ ।
पार्टीले छिट्टै घोषणासभामार्फत सिद्धान्त, विचार र उद्देश्य जनतामाझ राख्ने उद्घोषसमेत गरेको छ । नवगठित पार्टीले सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माणमा जोड दिँदै विधिको शासन, नेपाली जनतामा निहित सार्वभौमसत्ताको जगेर्ना, जैविक विविधतायुक्त भूगोलमा नेपालवादको सिद्धान्तलाई अवलम्बन गर्ने जनाएको छ ।
मुुलुकमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी देशको सर्वाङ्गीण विकास र शान्तिसुरक्षालाई विशेष प्राथमिकता दिने सो पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निवाह गर्ने र कसैको कुनै दवाव वा प्रलोभनमा नपर्ने अधिकृतको छवी बनाउनुभएका खरेलको राजनीतिक यात्रा भने कस्तो हुने हो ? आगामी दिनमै देखिनेछ ।
प्रतिक्रिया राख्नुहोस्