जन सरोकार

अरुणोदयको उपभोक्ता समितिको कामबाट हट्यो डोजर

कानूनी व्यवस्थाविपरीत उपभोक्ता समितिले गरेको काममा डोजर प्रयोग भएको समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले तत्कालै डोजर लगाउन बन्द गरेको छ । समाचार सार्वजनिक भएपछि डिभिजन कार्यालयका कार्यालय प्रमुख सिग्देलले डोजर लगाएर काम गर्न रोक लगाउनुभएको हो ।

पहिराको भिरतर्फ डोजर लगाउँदा पनि आयोजनास्थलमा प्राविधिक भने भेटिएका थिएनन् । डिभिजन कार्यालय, नगरपालिका र वडाकासमेत प्राविधिकले बैठक गरेर भनेअनुसार नै डोजर चलाएको पानीखोल्सा पहिरो नियन्त्रण उपभोक्ता समितिका सदस्य पासाङ लामाले जानकारी दिनुभएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी पानीखोल्सामा रहेको अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन पहिरोको जोखिममा परेपछि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब रु ४० लाख बजेट विनियोजन गरेको थियो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो । हाल प्रदेश सरकारले यो मन्त्रालय फुटाएर बनाएको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय वसुन्धराले आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरेको थियो ।

उपभोक्ता समितिले कानूनविपरीत डोजर चलाएर काम गरेको समाचार सार्वजनिक भएपछि डोजर हटाउन कार्यालयले निर्देशन दिएको हो । स्थानीयलाई रोजगारी सिर्जना गर्ने र आयोजनाप्रति स्थानीयवासीको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको समाचार शुक्रबार सार्वजनिक भएको थियो । (रासस)

अरुणोदयको पहिरो रोकथाम उपभोक्ता समितिको नाममा डोजर

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button