बयोवृद्ध महिलामाथि बलात्कारको घटना लुकाउन सहयोग गर्ने जनप्रतिनिधि पक्राउ
एक बयोवद्ध महिलामाथि भएको बलात्कारको घटना लुकाउन जनप्रतिनिधि नै लागिपरेको रहस्य खुलेको छ । आर्थिक लेनदेनमा घटना सामसुम पार्ने गरी सहमति भए पनि पछि कुरा नमिलेपछि घटना बाहिरिएको थियो ।

कैलालीकी ७७ वर्षीयाा महिलामाथि भएको बलात्कारको घटना मिलाउन मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।
अनुसन्धानका क्रममा घोडाघोडी नगरपालिका ४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको कैलाली हो ।
प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका ४ मा गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो । उनका छोराले सोही दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिलगायतले मिलापत्र गराएका थिए ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पीडकले पीडित पक्षलाई नगद तीन लाख रुपैयाँ दिने सहमति गरेर मिलापत्र गराएको पाइएको छ । तर सहमति बमोजिम पूरै रकम नदिइएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
पीडितका छोराले आरोपीबाट नगद दुई लाख रुपैयाँमात्र बुझेको बताएका छन् । यसअघि सुदूरपश्चिमको बैतडीमा १८ वर्षीया एक युवतीमाथि भएको बलात्कारको घटना लुकाउन एक तोला सुन दिने गरी कपाली तमसुक गरिएको सार्वजनिक भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्