राजनीति

राष्ट्रियसभा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

यसै गरी राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button