नयाँ बसपार्कबाट तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई शुक्रबार बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताउनुभयो ।
यसैबीच मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहिबार राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुमध्ये एक जना गम्भीर घाइते भएका छन् । उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्