साहित्य

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन

पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ ।

सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– पिँजराको सुगा, गोपालप्रसाद रिमाल–आमाको सपना, सिद्धिचरण श्रेष्ठ–आफ्नो परिचय, भवानी भिक्षु–दुःखको कथा, केदारमान व्यथित–चङ्गा, माधवप्रसाद घिमिरे–काली गण्डकी, विजय मल्ल–छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारी–जाग एसिया जाग, मोहन कोइराला, सारङ्गी, जगदीश शम्सेर राणा–केटी शहर जान्छे, पारिजात–वरको रुख, भूपी शेरचन– मैनबत्तीको शिखा, ईश्वर वल्लभ–क्रुर विचारको कथा, वाशु शशी–एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ–यी आँखाले खोजेका, वैरागी काइँला–विवाहित महिला कामदारको डायरी, रत्न शम्सेर थापा–एक अन्त्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ–मेरो पिँढी, तुलसी दिवस–बलेको दियोको तेल, कालीप्रसाद रिजाल–मेरो इच्छा, हरिभक्त कटुवाल–यो जिन्दगी खै के जिन्दगी समेटिएका छन् ।

त्यस्तै उपेन्द्र श्रेष्ठ–अँध्यारो र उज्यालोको कथा, भवानी घिमिरे–असल विचार, कुन्दन शर्मा–एउटा लामो बाटो, मदन रेग्मी–तिमी समुन्द्रको नजिक र टाढा, विमल कोइराला–फल मुन्तिया, एसपी कोइराला –शुरुआत, हरि अधिकारी–अधिकारको पूजा, पुरुषोत्तम सुवेदी–लडाइँको पक्षमा, व्याकुल माइला–काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारी–जाती, नवराज लम्साल–हरसालको एक उच्च हल्ला खल्ला, मोमिला–आफ्नो राष्ट्रिय मौन आवाजमा जस्ता १०८ वटा कविताको उर्दु भाषामा अनुवाद गरिएको छ ।

कविताहरूको अनुवाद जिया–उल–मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गर्नु भएको हो । बाहिरी आवरणसहित तीन सय ८५ पृष्ठको उक्त कविता सङ्ग्रहको अनुवादमा पछिल्ला एक सय वर्षमा लेखिएका नेपालका मूर्धन्य साहित्यकारका कविताहरु समेटिएका छन् ।

पाकिस्तानको राष्ट्रभाषामा नेपालका साहित्यकारहरूको रचना प्रकाशन हुँदा नेपाली साहित्यकारहरुको रचना र पहिचान विस्तार हुने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै यसबाट पाकिस्तानी साहित्यकारहरूलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्नुका साथ दुई मित्र देशबीच साहित्यका माध्यमबाट सहयोग अदान–प्रदान हुने एवं द्विपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली कविताहरूको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामाबादले सहजीकरण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.