बिचार

मस्तिष्कघातको कारण र उपचार

डा. मनोज बोहरा

ब्रेनस्ट्रोक (पक्षघात/मस्तिष्कघात) बिरामीलाई जीवनभरका लागि अशक्त बनाउन सक्ने वा ज्यान नै लिन सक्ने एक जटिल मेडिकल अवस्था हो । हाम्रो समाजमा प्यारालाइसिस (शरीरको कुनै भाग नचल्ने) भनेर बुझ्ने यो रोगमा यसका अतिरिक्त बोल्न नसक्ने, मुख बाङ्गिने, दृष्टिमा कमी आउने, बेहोश हुने तथा असन्तुलित हिँडाइ हुनेजस्ता लक्षणहरू पनि हुन सक्छन् ।

उमेर पुगेपछि लाग्ने रोग भनेर विगतको धारणा भए पनि अहिलेको परिवर्तित जीवनशैलीका कारणले वयस्क मानिस पनि यो रोगबाट अशक्त हुन थालेको पाइन्छ ।

स्ट्रोक दुई किसिमको हुन्छ । एउटा मस्तिष्कमा रगत प्रवाह गर्ने रक्तनली बन्द वा अवरुद्ध भएर त्यो भागमा पर्याप्त मात्रामा रगत नपुगी त्यसका कोषहरू मर्दै जाने किसिमको स्ट्रोक हो । अर्को हेमोरेज हो, अर्थात् मस्तिष्कका नली विभिन्न कारणवश फुटेर मस्तिष्कमा रगत जम्ने अवस्था हो ।

न्युरो इन्टरभेन्सन
जसरी मुटुमा बन्द भएका रक्तनलीहरूलाई मुटु खोल्नेप्रकारको शल्यक्रिया नगरीकन हात वा खुट्टाको रक्तनलीको भित्रबाट विभिन्न साधनहरू प्रयोग गरी उपचार गरिन्छ । त्यसरी नै मस्तिष्कमा अवरोध भएका रक्तनलीहरूको पनि टाउको नखोलेरै उपचार गर्ने पद्धति हो न्युरो इन्टरभेन्सन । यसमा मस्तिष्कमा बन्द भएका रक्तनलीहरूलाई स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गराउने क्लटलाई नै बाहिर निकालेर पुनः रक्त सञ्चालन गरिन्छ । विगतमा केवल औषधि उपचारमा सीमित रहेको स्ट्रोकजस्तो जटिल अवस्थामा न्युरो इन्टरभेन्सन उपचार पद्धतिको थालनीले अत्यन्त सकारात्मक तथा प्रभावकारी परिणाम देखाएको छ । विश्वमा वर्षांैदेखि स्ट्रोकमा थुप्रै अध्ययन तथा अनुसन्धानहरू हुँदै आएका छन् । यसै अनुसन्धानका तथ्यहरूले रक्तनलीहरू अवरुद्ध गर्ने क्लटलाई गलाउने औषधिद्वारा गरिने उपचारभन्दा क्लटलाई नै बाहिर निकाल्ने न्युरो इन्टरभेन्सनको पद्धति बढी प्रभावकारी रहेको देखाएका छन् ।

समयमै उपचारको महत्व
न्युरो इन्टरभेन्सन पद्धतिबाट स्ट्रोकको उपचारमा नौलो क्रान्ति आएको कुरामा दुईमत नभए पनि यसका आफ्नै सीमितता छन् । सबैभन्दा महत्वपूर्ण सीमितता भनेको यो उपचार गर्ने समय अवधि लक्षण सुरु भएको २४ घण्टाभित्र भनेर तोकिएको छ । विगतमा त छ घण्टाभित्र मात्र यो उपचार गर्न सकिन्थ्यो । तर, सन् २०१८ मा विश्वस्तरीय अनुसन्धानहरूको नतिजाबाट २४ घण्टासम्म पनि यो उपचार प्रभावकारी देखिएकाले हाल सो अवधि बढाएर २४ घण्टा गरिएको हो । स्ट्रोकले मस्तिष्कमा पार्ने नकारात्मक असरको गति प्रत्येक बिरामीमा फरक–फरक हुन्छ । अपरिवर्तनीय क्षति हुनुअगावै यो उपचार गर्न सकेमा प्यारालाइसिससमेत निको भएका उदाहरणहरू छन् । भनाइको तात्पर्य के हो भने २४ घण्टाभित्रै अस्पताल पुगे पनि अपरिवर्तनीय क्षति भइसकेको अवस्थामा यो उपचार पद्धति प्रभावकारी नहुन पनि सक्छ । तसर्थ, स्ट्रोकका लक्षणहरू देखिनसाथ तत्काल सुविधासम्पन्न अस्पतालमा जानुपर्ने हुन्छ ।

चुनौती
माथि उल्लिखित समयको सीमितताका अतिरिक्त यसको अर्को ठूलो चुनौती भनेको महँगो उपचार पद्धति हो । टाउको नखोलीकन उपचार गरिने नौलो पद्धति भएकाले यसमा लाग्ने उपकरण तथा साधनहरू विश्वभरि नै महँगा छन् । पक्षघातजस्तो जटिल रोगलाई विभिन्न देशहरूमा अत्यन्त प्राथमिकतामा राखेर बिरामीलाई निःशुल्क तथा न्यून शुल्कमा उपचार गर्ने नीतिहरू छन् । नेपालमा ठोस तथ्याङ्क नभए पनि पक्षघात देशभर व्याप्त छ । बिरामीका लागि विशेष सहयोग गर्ने नीति नआएसम्म धेरै बिरामीले यस्तो उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहन्छ । यस क्षेत्रमा दक्ष चिकित्सकको अत्यन्तै अभाव भएकाले तथा विभिन्न आर्थिक सामाजिक कारणले पनि यो उपचारलाई धेरैभन्दा धेरै जनताको पहँुचमा ल्याउने ठूलो चुनौती अहिले विद्यमान छ ।

तसर्थ, नेपालका विभिन्न ठाउँहरूमा स्ट्रोक वा पक्षघातसम्बन्धी जनचेतना पैmलाउँदै समयमै उपचार गर्न सकेमा धेरै बिरामीले अशक्त भएर जीवन बिताउनुपर्ने वा ज्यान गुमाउनुपर्ने अवस्था निर्मूल गर्न सकिन्छ । वास्तवमा भनिन्छ, ‘टाइम इज ब्रेन (समय मस्तिष्क हो) ।’

(लेखक स्नायू रोग विशेषज्ञ हुनुहुन्छ ।) गोरखापत्र दैनिकबाट

सम्बन्धित खबर

Back to top button