जन सरोकारस्वास्थ्य

आगामी दिनमा अस्पतालहरुमा चाप बढ्ने

कुन माध्यामबाट कोरोनाको संक्रमण भइरहेको छ पुष्टि गर्न गाह्रो

दुई हप्ताकोबीचमा नेपालमा कोरोना भाइरस संक्रमणको दर २.५९ बाट १६.३ प्रतिशत पुग्यो । पुस १० गते १६७ जना संक्रमित थिए भने पुस २७ गते २४४४ पुगे । संक्रमितमध्ये आधाजसो काठमाडौं उपत्यकामा छन् ।

जुन दरमा संक्रमण बढिरहेको छ विज्ञहरुले कुन माध्यमबाट संक्रमण बढिरहेको छ भन्ने पुष्टि गर्न गाह्रो परेको बताउन थालेका छन् । नेपालमा वितेको एक सातामा कोरोना संक्रमण तीव्र फैलिएको छ ।

पुस २७ गते मंगलबार दैनिक पहिचान हुने संक्रमितको संख्या २,४४४ पुग्यो । सोमबार नयाँ संक्रमितको संख्या १४४६ थियो भने आइतबार नयाँ संक्रमितको संख्या ११६७ थियो ।

संक्रमणको यो संख्या र दरले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा पुगिसकेको र तेस्रो लहर सुरुवात भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल बताउनुहुन्छ ।

उहाँको भन्नुहुन्छ ‘पुस पहिलो हप्ता संक्रमण दर २ प्रतिशतको रहेकोमा दुई साताभित्रै १८ मा पुगेका छौं । संक्रमित संख्या दुई–दुई दिनमा दोब्बर संख्यामा देखिएको छ, यसले हामीकहाँ तेस्रो लहरको सुरुवातमा गइसकेका पुष्टि गर्छ ।’

डा. पौडेलका अनुसार तेस्रो लहर ल्याउन ओमिक्रोनकै भूमिका छ । केही दिनअघि जिन सिक्वेन्सिङ गरिएको सबै २४ नमुनामा ओमिक्रोन पुष्टि भएको र अब देखिएकाले कोरोनालाई ओमिक्रोन मान्न सकिन्छ ।

कोरोना भाइरसको उतारचढावलाई नियालिरहेका सूक्ष्म जीवाणु विज्ञ डा. सन्तोष दुलालका अनुसार अन्य भेरियन्ट तुलनामा आर नट (अरुमा सार्ने दर) ११ भन्दा माथि छ । जबकि नेपालमा दोस्रो लहर ल्याएको डेल्टा भेरियन्टमा एक संक्रमितले ७ जनासम्मलाई सारेको देखिएको थियो ।

त्यसै गरी संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी नेपालको हकमा संक्रमण समुदायमा पुगेको छ, तर त्यस स्तरमा परीक्षण नभएकाले आगामी दिनमा संक्रमण अझ बढ्ने र दुई हप्ताभित्र अस्पतालहरुमा भर्ना हुने दर उकालो लाग्ने बताउनुहुन्छ ।

डा. अधिकारी भन्नुहुन्छ ‘कुनै एक व्यक्ति आज संक्रमित भयो भने एक हप्तामा संक्रमणका लक्षण देखा पर्छन् । अर्को हप्ता निमोनिया वा गम्भीर असर देखाउन थाल्छ । त्यसको केही दिनमा अक्सिजन अभावका कारण मानिसहरु अस्पताल जान थाल्छन् ।’

महामारी विज्ञ डा. केदार बराल पनि हालको संक्रमण दर कायम रहे अस्पतालमा बिरामीको चाप बढ्ने बताउनुहुन्छ । उहाँका अनससारा सरकारले जति पनि संख्यामा परीक्षण गरेको छ, त्यो भन्दा धेरै केस समुदायमा हुन्छ । त्यसैले अबको दुई हप्ताभित्रमा धेरै जनसंख्यामा संक्रमण पुष्टि हुने निश्चित छ ।

त्रिवि शिक्षण अस्पतालका फोर्कल पर्सन डा. निरज बम खोप नलाएका बालबालिका संक्रमित भएर अस्पताल भर्ना भएको खण्डमा गम्भीर जोखिममा पार्ने सक्ने चेतावनी दिनुहुन्छ ।

उहाँ  कसरी, कहाँ, कुन माध्यामबाट कोरोनाको संक्रमण भइरहेको छ पुष्टि गर्न गाह्रो भइरहेको बताउँदै संक्रमित संख्या बढिरहेको देख्दा आगामी दिनमा अस्पतालका आईसीयू तथा भेन्टिलेटरमा संक्रमितको चाप बढ्ने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.