जन सरोकारस्वास्थ्य

नेपालमा संक्रमणदर २७ प्रतिशत, आधा संक्रमित काठमाडौँ उपत्यकामा

बुधबार देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएकोमा काठमाडौं उपत्यकामा आधाभन्दा बढी छन् । यीमध्ये काठमाडौँमा एक हजार १२८, ललितपुर २३६ र र भक्तपुरमा १३४ सक्रिय सङक्रमित रहेका छन् ।

दुई हप्ता अघिसम्म तीन प्रतिशतको हाराहारीमा रहेको संक्रमणदर बुधबारसम्म आइपुग्दा २७ प्रतिशत पुगेको छ । पुस १० गते १६७ जना संक्रमित थिए भने पुस २८ गते ३०७५ पुगे ।

बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६ को नमूना परीक्षण गरिएको थियो । नौ हजार ५१ ले पीसीआर र तीन हजार ९८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएकोमा तीन हजार ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो अवधिमा जम्मा परीक्षणमध्ये सङ्क्रमणदर २७ प्रतिशत छ । यही अवधिमा २७८ जना कोरोनाबाट निको भएका छन् । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २२ र आइसियुमा ८७ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ९१०, संस्थागत आइसोलेसनमा ८८० र संस्थागत क्वारेन्टिनमा ६९५ रहेका छन् ।

सरकारले खोप कार्यक्रम विस्तारमा लागेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले बताउनुभयो । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यअनुसार लगाइसकिएको उहाँले बताउनुभयो ।

पहिले खोप लगाइसकेका नागरिकलाई माघ महिनाको पहिलो साताबाट ‘बुस्टर’ डोज लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले जुन खोप लगाउनुभएको हो त्यही ‘बुस्टर’ लगाउनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button