अर्थ

ओरालो लाग्दै अर्थतन्त्र, विदेशी मुद्रा सञ्चिति घट्दै

विगत पाँच महिनायता मुलुकको अर्थतन्त्रमा देखापरेको संकट समाधानको कुनै संकेत छैन । बढ्दो आयात, न्यून निर्यात अनि रेमिट्यान्समा आएको कमीले विदेशी मुद्राको सञ्चिति दैनिक घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा संचित विदेशी मुद्राले करिब साढे सात महिनाको वस्तु आयात तथा छ महिना आठ दिनको वस्तु तथा सेवा आयात मात्रै धान्न पुग्छ ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७८ मङ्सिर मसान्तमा राष्ट्रको ढुकुटीमा १२ खर्ब १४ अर्ब तीन करोड रुपियाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ जुन पाँच महिनाअघि अर्थात् असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपियाँ बराबर रहेको थियो । अमेरिकी डलरको अवस्थालाई हेर्दा पनि मङ्सिर मसान्तसम्म जम्मा १० अर्ब तीन करोड मात्र रहेको छ । असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या घटेसँगै विप्रेषण आप्रवाह पनि घटेको छ ।

यस अवधिमा एक लाख ३१ हजार ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.७ प्रतिशतले कम हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ ।

वैदेशिक रोजगारीमा आएको शिथिलताले विप्रेषण आप्रवाहमा ६.८ प्रतिशतले कमी आएर तीन खर्ब ८८ अर्ब ५८ करोड रुपियाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६।४ प्रतिशतले बढेको थियो ।

मुलुकको अर्थतन्त्रमा आएको संकुचनकाबीच चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा मूल्य वृद्धि उच्च रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थको ५.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ८.२५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको मङ्सिर मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा घिउ तथा तेलमा साढे २८ प्रतिशत, यातायात, दाल तथा गेडागुडीमा १६.२५ प्रतिशत, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहमा ११.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

त्यस्तै चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जम्मा सात खर्ब ३५ अर्ब ४९ करोड रुपियाँको व्यापार घाटा भएको राष्ट्र बैङ्कले जनाएको छ ।

समीक्षा अवधिमा निर्यात आयात अनुपात १२.३ प्रतिशत पुगेको छ जब कि अघिल्लो वर्ष यस्तो अनुपात ९.५ प्रतिशत मात्र थियो भने कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपियाँ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button