राजनीति

“छिमेकीको मनपरी कुनै पनि नागरिकलाई स्वीकार्य छैन”

विवेकशील साझा पार्टीले देशप्रेमी कुनै पनि नागरिकलाई छिमेकीको मनपरी स्वीकार्य भएको बताउँदै नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले आज एक विज्ञप्ति जारी गरी भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताको आलोचना गर्दै तत्काल कूटनीतिक संवाद अघिबढाउन आग्रह गरिएको छ ।

विवेकशील साझाले विज्ञप्तिमार्फत नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह समेत गरिएको छ ।

त्यसै गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि रहेको जनाइएको छ ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त हुँदा नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसक्ने हो भने त्यसका दूरगामी असर मुलुकले भोग्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button