नेपालमा जुन गतिमा कोरोना संक्रमण बढेको छ यहि अनुपातमा बढ्दै जाने र माघको दोस्रो हप्ता पिकमा पुगेर दैनिक २० हजारजनासम्म संक्रमित हुने आँकला स्वास्थ्य मन्त्रालयले गरिसकेको छ ।

सरकारले बुस्टर डोज अभियान चलाइरहेको छ भने पहिलो मात्रा र दोस्रो मात्रा लगाउन नपाएका जनसंख्या पनि निकै ठूलो छ । यसबीचमा विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीहरु एक दिन धेरै मात्रामा संक्रमित हुन थालेकाले तत्काल सबै स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिइसक्नुपर्ने सुझाव विज्ञहरुको छ ।
हुन त सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने भनेर विभिन्न पेशाकर्मीसंगै स्वास्थ्यकर्मीलाई पनि राखेको छ, तर सबभन्दा पहिला स्वास्थ्यकर्मीलाई बुस्टर डो दिएर त्यसपछि अरुलाई सुरु गर्नुपर्न सुझाव विज्ञको छ ।
जतिबेला संक्रमण उच्च बिन्दुमा पुग्छ त्यतिबेला उपचारका लागि स्वास्थ्यकर्मीकै अभाव हुनसक्ने चेतावनी दिनुहुन्छ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी । उहाँका अनुसार अहिलेसम्म स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिइसक्नुपर्थ्यो ।
उहाँ भन्नुहुन्छ, ओमिक्रोन फैलिने दर हेर्दा अस्पतालहरूमा एकै पटकमा सयौं संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुन्छन् । समयमै बुस्टर दिन सकेको भए स्वास्थ्यकर्मी संक्रमित हुने जोखिम धेरै हदसम्म कम हुन्थ्यो । तर स्वास्थ्य मन्त्रीले गैरजिम्मेवार तरिकाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएपछि बुस्टर डोज दिन शुरु गर्छौं भन्नुभयो ।
अस्पतालमा आजभोलि स्वास्थ्यकर्मी संक्रमण व्यापक रूपमा फैलिरहेको छ । हाम्रो देशमा अस्पताल बन्द भयो भने विश्व स्वस्थ्य संगठनले आएर चलाउँछ ?
अहिले ओमिक्रोन बढी संक्रामक भए पनि सिकिस्त निकै कम पार्छ तर ओमिक्रोनको संक्रमण फैलावट हेर्दा हाम्रो स्वास्थ्य प्रणाली कोल्याप्स हुन सक्छ । भएका अस्पतालहरूको बेड भरिने सम्भावना एकदमै बढी छ ।
पहिलाको संक्रमण वा खोपका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुनु र भाइरस अलि कमजोर भएकाले गम्भीर बनाउने सम्भावना कम हुन्छ भनिएको हो । त्यो जोखिम व्यक्ति कम होला, तर, समग्रतामा हेर्ने हो भने एकदमै ठूलो चुनौती हाम्रासामु छ ।
उहाँको तर्क छ, डेल्टा भेरियन्टको लहरमा एक लाख मानिसमा संक्रमित हुँदा एक हजार जनालाई अस्पताल भर्ना गर्नुपर्थ्यो भने ओमिक्रोनमा एक लाख संक्रमित हुँदा २५० जना अस्पताल भर्ना हुनसक्छन् । तर डेल्टाले एक लाखलाई संक्रमित गर्दा ओमिक्रोनले ८ लाख मानिसलाई संक्रमित गर्न सक्छ । अर्थात् डेल्टाले एक हजारलाई अस्पताल पुर्याउने समयमा ओमिक्रोनले दुई हजारलाई अस्पताल पुर्याउँछ र हाम्रो स्वास्थ्य प्रणालीले नधान्न सक्छ ।
यस्तो अवस्थामा सामान्य एन्टिबायोटिक दिएर ठीक हुने निमोनिया रहेछ भने पनि बेड नपाएर मानिसको मृत्यु हुनसक्छ । हृदयघातका, गर्भवती लगायतका बिरामीले बेड नपाएर मृत्यु हुने अवस्था आउँछ । त्यसैले ओमिक्रोनको व्यक्तिगत जोखिम कम भए पनि समग्रतामा ठूलो चुनौती देखिन्छ ।
यसबीचमा स्वास्थ्यकर्मी पनि ठूलो मात्रामा संक्रमित हुने हुँदा बेड अभावसंगै जनशक्तिको पनि अभाव हुने र सामान्य मानिसले सामान्य उपचार नपाएर मृत्यु हुनुपर्ने पीडापूर्ण अवस्था आउनसक्छ । यस्तो अवस्था आउन नदिन सबैभन्दा पहिला केही दिनभित्रै देशभरका स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिइसक्नुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्