राजनीति

नक्कली राजालाई दाम चढाउनेहरुबाट गणतन्त्रलाई खतरा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दरबार हत्याकाण्डपछि नक्कली राजालाई दाम चढाउनेले गणतन्त्रलाई हमला गरेको भन्दै आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (अनेमसं)को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उहाँले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको स्पष्ट गर्नुभयो ।

“संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो”, उहाँले भन्नुभयो, “कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।”

पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीको भनाइ थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद् विघटनको विषयमा राष्ट्रपतिको मर्यादा समेत ख्याल नगरिएको बताउँदै संसद् विघटन प्रधानमन्त्रीले गरे पनि राष्ट्रपतिमाथि हमला गरिएको आरोप लगाउनुभयो ।

हिजो नक्कली राजालाई दाम चढाउनेले गणतन्त्रमाथि हमला गरेका छन् भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “दरबार हत्याकाण्डपछि खोजेर ल्याएको नक्कली राजालाई दाम चढाएको होइन ? अहिले फेरि गणतन्त्रमाथि हमला ?”

एकताको तीन वर्षसम्म कामै गर्न नसक्ने अवस्थामा पुगेको पार्टीले अहिले गति लिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो पार्टीमा सुद्धिकरण आवश्यक थियो । केहीलाई कारबाही गर्नुपर्ने थियो, तर आफैं सुटुक्क गए । तानाशाहीको विरुद्ध मात्रै सडकमा जानुपर्ने भए पनि अहिले लोकतन्त्रका विरुद्ध प्रचण्ड र माधव नेपालहरु सडकमा गएको टिप्पणी गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button