बिचार

जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ

– गीता श्रेष्ठ –

आज समाज विचलित छ, धार्मिक–सांस्कृतिक अतिक्रमणले आफ्ना मूल्य–मान्यता र संस्कार बिर्सदै गएको छ यो पुस्ताले । यो पुस्ता अर्थात् भोलि देशको जिम्मा लिने खम्बा तर यो खम्बा सुरुदेखि नै मक्किएको अनुभूति हुन थालेको छ– उनीहरुको व्यवहार, संस्कार र चालढाल हेर्दा । अहिले पुराना कुरा बिर्सने र नयाँ मात्र अँगाल्ने प्रवृत्तिका कारणले समाज भाँडिएको छ, मानिस समूहबाट व्यक्तिमा परिणत भएको छ । यसको पहिलो सुरुवात वृद्ध आमाबुबाप्रतिको जिम्मेवारी वहन नगर्ने प्रवृत्तिबाट भएको छ । आमाबाबु शब्द उच्चारण गर्दा नै आफैंमा एउटा भरोसा बोकेर खडा हुुनुपर्नेमा आमाबाबुको कुरा आजभोलिकालाई विष लाग्न थालेको छ । सुखमा–दुखमा–आपतमा–विपतमा बोलिने पहिलो शब्द थियो आमा ! तर आजभोलि आमा वा बाबु बोझ बन्न थालेको छ ।

आमाबुबाप्रति छोराछोरीको दृष्टिकोण बदलिएको छ । सायद २१ औं शताब्दी भनेको यही होला । पूर्वीय समाजले जसरी आमाबुबालाई देवतुल्य मानेर उनीहरुको मार्गदर्शनलाई आशीर्वाद ठानेर अनुसरण गथ्र्यो आज त्यो विलुप्त भैसकेको छ । आजका छोराछोरी बाबुआमाले भनेका कुराहरुलाई बोझ र कचकच गरेको ठान्दछन् । उनीहरु आफू सर्वज्ञाता ठानेर बाबुआमाले दिएको सुझावलाई बोझ मान्छन् अनि आफ्नो मानोमानी गर्न पाइएन भने बाबुआमाप्रति घृणा गर्नछ् र अन्ततः सडकको पेटीमा वा वृद्धाश्रममा लगेर मिल्काइदिन्छन् ।

हामी यो सोच्दैनौं कि भोलि आफू पनि बूढो हुनुपर्छ । आजको कर्मले नै भोलिको मार्ग र भाग्य तय गर्छ भन्ने बिर्सेर तत्कालको सुखका लागि बाबुआमालाई अपमानित गर्ने छोराछोरीले भोलि आफूलाई आफ्ना छोराछोरीले पनि यस्तै गर्दैनन् भन्ने हेक्का राख्दैनन् । अहिलेको समस्या यही हो । संयुक्त परिवारमा अभ्यस्त नेपाली समाज विस्तारै एकल जीवनशैलीमा ढल्कदैछ र यसैको परिणाम हो आमाबुबाप्रति छोराछोरीको वेवास्ता । हुन त सरकारले आमाबुबालाई हेला गर्ने अथवा उनीहरुको हेरचाह नगर्ने छोराछोरीलाई दण्डित गर्ने कानुन बनाइएको छ ।

मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद–४ आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्थाको धारा १२२ मा “आमा–बाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने” भन्दै दफा (१) मा “प्रत्येक छोराछोरीले आफ्ना आमा बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नु पर्नेछ ।” (२) “प्रत्येक छोराछोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नु पर्नेछ ।” भनेर किटानी गरिएको छ ।

आज मुलुक धार्मिक–सांस्कृतिक अतिक्रमणको शिकार भएको छ । धर्म परिवर्तनको लहर यसरी बढेको छ कि एक दशकको बीचमा इसाई धर्मावलम्बीको संख्या १००० गुणा बढेको छ । सयमा सीमित चर्चाहरु दशौं हजारमा पुगेका छन् भने दशौंलाख इसाई धर्मावलम्बी बनेका छन् । यसको एउटै कारण छ समाज विकासका क्रममा कायम गरिएको विभेद र त्यही विभेदलाई टेकेर हिन्दु धर्म–संस्कृतिप्रति पश्चिमाहरुबाट भएको प्रहार । यही पश्चिमा संस्कृतिको प्रहारको परिणाम हो समाज एक्लो बन्दै जानु, समूहमा बस्नुभन्दा एक्लै बस्न रुचाउने अनि आमाबाबुलाई बोझ सम्झनु ।

हुन त आमाबाबुलाई हेरचाह गर्नुपर्ने कुरा यो नियम–कानुनले बाँध्नुपर्ने विषय हैन तर अहिले यस्तो अवस्था आएको छ । आमाबाबुप्रति छोराछोरीको दायित्वलाई कानुनमा बाँध्नुपर्ने बाध्यता पश्चिमा संस्कृतिको अन्धानुकरणले गर्दा भएको हो । यसमा शिक्षा पद्धतिको सबभन्दा ठूलो प्रभाव छ । हामीले नैतिक शिक्षा पढाउन छाड्यौं, नैतिक शिक्षा भनेर विद्यालयहरुमाा कोर्स त राखिन्छ तर कस्तो नैतिक शिक्षा दिइरहेका छौं भन्नेतिर ध्यान दिन सकेका छैनौं । यसैको परिणाम हो घरका आमाबुबा संस्कावान हुँदाहुँदै पनि उनीहरुका छोराछोरी संस्कारहीन भएर निस्कन्छन् । आमाबुबालाई सम्मान गर्न नसक्नेले अरुको सम्मान गर्छ भनेर कसरी पत्याउने ?

हो आजको समय अनुसार आमाबुबा छोराछोरीका लागि उनीहरुको सोच अनुसारको व्यवहार गर्न नसक्लान् तर यसो अर्थ यो हैन कि उनीहरुलाई सडकमा लगेर मिल्काउने । आमाबुबालाई समय अनुसार सिकाउने कि मिल्काउने ? प्रश्न यही हो । अर्को कुरा जतिसुकै जान्ने ठाने पनि, जतिसुकै बुझेको छु भने पनि छोराछोरी बाबुआमाको बराबर पुग्नै सक्दैनन् । मोबाइल र ल्यापटमा देखेका र त्यसैबाट सिकेका कुरा नै आधुनिक, सभ्य र संस्कारी हुन् भन्ने भ्रममा परेर आमाबुबालाई अपहेलना गर्ने प्रवृत्तिले कोही पनि सुखी बन्न सक्दैनन् । नजानेकै होस् आमाबाबुले कहिल्यै छोराछोरीको कुभलो चाहँदैनन् भन्ने यो पुस्तालाई कसले बुझाइदिने ?

(प्रस्तुत लेख गोरखापत्र दैनिकबाट साभार गरिएको हो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.