जन सरोकार

काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)

काठमाडौं उपत्यका भूकम्पीय दृष्टिले जति जोखिममा छ त्यति नै जोखिम मानवीय कारणबाट पनि छ । साँघुरा सडक, गगनचुम्बी भवन अनि आगलागी जस्ता घटना नियन्त्रणमा लिन सोही अनुसारका दमकलको अभाव । गत सोमबार रविभवनमा यस्तै भयो । अपार्टमेन्टमा आगो लागेपछि एकजनाको जलेर मृत्यु भयो भने तत्काल आगो निभाउन र उद्धार गर्न प्राविधिक समस्या देखियो ।

रवीभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा सोमबार दिउँसो आगलागी भएपछि अपार्टमेन्टभित्र रहेकाहरु बाहिर निस्कन प्रयास गरे । तर, असफल भएपछि उद्धारकर्ता नै तलबाट आगो निभाउँदै अपमार्टमेन्टहरु भित्र पुग्नुपर्‍यो ।

प्रहरीले अपार्टमेन्टभित्रबाट अत्तालिएको अवस्थामा २३ जनालाई उद्धार गर्यो । अपार्टमेन्टको तेस्रो तलाको ढोकासँगैको बिजुलीको वायरिङ सर्ट भएपछि चौधौं तलासम्मको ढोकाहरुमा आगो सल्किएको थियो । त्यसका कारण कोही पनि मूल ढोका खोलेर नियमित भर्‍याङबाट तल झर्न सक्ने अवस्था थिएन । सुरक्षाका लागि बनाउनुपर्ने संरचना बनेको थिएन ।

करिब डेढ वर्षअघिबाट मात्रै यो अपार्टमेन्टमा बसोबास सुरु भएको थियो । अझै एउटा टावर (ब्लक)को निर्माण सकिएको छैन । अपार्टमेन्टमा बसोबास गर्नेहरुले वायरिङमा लापरवाही भएको र कमजोर गुणस्तरको विद्युतीय सामग्री प्रयोग गरेको आशंका गरेका छन् ।

भूकम्पपछि मात्रै यो अपार्टमेन्ट बन्ने क्रम तीव्र भए पनि यसमा आकस्मिक भर्‍याङ राख्न लगाउन कुनै सरकारी निकायले जोड नगरेको देखिएको छ । उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग सबैले यो अपार्टमेन्ट नियम विपरीत निर्माण भएपनि आँखा चिम्लिएका छन् ।

यो अपार्टमेन्टले अझै निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएको छैन । तर, २८० वटा अपार्टमेन्ट लगभग बिक्री भइसकेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि भवन निर्माण आचारसंहिता बदलियो, तर बनाउनेहरुको संस्कार बदलिएको छैन । एकथरि नक्सा पास गरेर अर्कोथरि बनाउने क्रम व्यक्तिगत घर मात्र हैन ठूलाठूला मल र अपार्टमेन्टहरुमा पनि छ ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.