बन्न सक्छन् बालबालिका कोरोनाबिरुद्धको दूत !
‘बालबालिकाको मुखमा भगवानको बास हुन्छ’ भन्ने मान्यता नेपाली समाज छ । त्यसो किन भनिन्छ भने बालबालिका देखेको कुरा बोल्छन्, सिकेका र सुनेको कुरा नचपाइकन यथार्थरुपमा भन्छन् । त्यस्तै आफूले सिकेका कुरा व्यवहारमा उतार्ने र अरुलाई पनि बताउने गर्दछन् ।

बालबालिकाले भनेको, देखाएका कुराहरुको अवज्ञा जो कोहीले गर्दैनन्, त्यसैले पनि बालबालिकाहरुका अगाडि धेरै मानिस बोल्दा वा कुनै गलत काम गर्दा हच्किने गर्दछन् । बालबालिकाको यही स्वाभावको सदुपयोग गर्दै कोरोना भाइरस संक्रमण बिरुद्धको सद्भावना दूतका रुपमा हरेक घरका लागि स्थापित गर्नसके कोरोना संक्रमणको अहिलेको महामारी निकै कम हुनसक्छ ।
यसका लागि उनीहरुलाई प्लेकार्ड बोकेर सडकमा हिंडाउने हैन कि यसबारेमा विद्यालयका शिक्षक–शिक्षिकाले उचित र सही तरिकाले संक्रमणबाट बच्ने तरिका सिकाउने, जुन सैद्धान्तिक र व्यवहारिक दुबै रुपमा आवश्यक पर्दछ । हरेक दिनको विद्यायको पढाइमा शिक्षक शिक्षिकाले कोरोना भाइरस संक्रमणबाट बच्ने उपायहरुका बारेमा यसरी सिकाउने हो भने त्यो सिकाई घरमा लागू गर्छन् ।
जस्तो कि “मास्क राम्रोसंग लगाएको छ कि छैन, साबुन पानीले हात धोएको छ कि छैन, सामाजिक दूरी कायम गरिएको छ कि छैन” ? जस्ता पक्षलाई मात्र ध्यान दिने हो भने महामारी नियन्त्रण हुन्छ र यो नियन्त्रण घरघरबाट बालबालिकाका माध्यमबाट हुनसक्छ । यसका लागि केवल चाहना, प्रतिबद्धता र सामाजिक जिम्मेवारीबोध हुनुपर्छ ।
विगत दुई वर्षयता विश्वले कोरोना बिरुद्ध गरेको संघर्षको निष्कर्ष के हो भने– कोरोना संक्रमण भौतिक सामग्रीबाट भन्दा चेतनाबाट छिटो प्रभावकारीरुपमा नियन्त्रण हुन्छ । यसका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पालना नै हो र यसको पालनाका लागि बालबालिकालाई दूतकै रुपमा स्थापित गर्नुपर्दछ । अहिले जान्ने–सुन्नेहरु मापदण्ड पालनामा बेवास्ता गर्ने भएकैले बालबालिकालाई यसबारेमा ज्ञान दिने र उनीहरुले अरुलाई पनि सकाउने वातावरण बनाउन सरकारले पनि सोही अनुसारको नीति बनाउनु पर्दछ । विद्यालय, शिक्षक–शिक्षिका र आम अभिभावक सबै मिलेर कोरोना परास्त गर्न घरघरबाट चेतनाको राँको बाल्ने एउटा प्रयास गर्नुपर्दछ ।
दुई वर्षयता वैकल्पिक माध्यमबाट पठनपाठन भएको छ भने वैकल्पिक शिक्षा पनि दिने सोच भने विकसित हुन सकेन । यदि विद्यालयहरुमा यस्तो विकसित हुनसके नेपालको शैक्षिक इतिहासमै अभूतपूर्व उपलब्धि हुनेछ ।
अहिले महामारीको नयाँ लहर सुरु भएको छ र यसबाट आम नागरिकलाई बचाउन घरघरबाट अभियानको थालनी हुनुपर्ने र यसका लागि बालबालिका दूतकै रुपमा स्थापित हुने देखिन्छ । अनि दूत बनाउने बलियो पक्ष विद्यालय र शिक्षक शिक्षिका हुन् । यस्तो जिम्मेवारीबोध हरेक विद्यालयले गर्नुपर्छ । हरेक विद्यालयले आफ्नो अतिरिक्त पाठ्यक्रममा अहिलेका लागि कोरोना महामारीको नियन्त्रण र बच्ने उपायलाई समावेश गर्दा बालबालिकाले नयाँ कुरा पनि सिक्छन्, उनीहरुले जानेका कुरा आफ्ना अभिभावक र साथीसंगतिलाई पनि बताउँछन् । जसको परिणाम स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा सघाउ पुग्नेछ । महामारी रोकथामका लागि ठूलो आधार तयार हुनेछ ।
अनलाइन कक्षामा सधैं एउटै विषयबस्तुमा अध्ययन गर्दा उनीहरुमा नैराश्यता उत्पन्न भैरहेका समाचारहरु सुन्दै आएको अवस्थामा यस्ता विषयहरु पढाउँदा उनीहरुले ताजापनको अनुभूति पनि गर्नेछन् । अहिले कोरोनालाई प्राथमिकता दिएर पठनपाठनको अभ्यास थालनी गर्ने र बालबालिकाहरुबीच बहस गराउने, कोरोना संक्रमणबाट बच्न आफ्नो घरका सदस्यहरुले के कस्तो अनुशासन पालना गरेका छन् यसको जानकारी लिने र दिने तथा आवश्यक अन्य सल्लाह दिने हो भने उनीहरुमार्फत अरु धेरैलाई संक्रमित हुनबाट रोक्न सकिन्छ ।
कस्तो देखिन्छ भने– अभिभावक च्यापुमा मास्क झुण्ड्याएर हिंड्छन् अनि बालबालिकाले पनि त्यही सिको गर्ने भए । नतिजा– संक्रमणको जोखिम उच्च ! यस्तोमा बालबालिकालाई मास्क लगाउने तरिका, मास्क लगाउँदा हुने फाइदा, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दूरी कामय गर्नुपर्ने जस्ता महत्वपूर्ण कुराहरुलाई शिक्षक– शिक्षिकाले नियमित रुटिन नै बनाएर पढाउने हो भने यसको नतिजा निकै फलदायी हुनेछ । यसले बालबालिकामा नयाँ जाँगर पनि पैदा गर्नेछ ।
अहिले कोरोनालाई प्राथमिकतामा राखेर ‘महामारीबिरुद्धको व्यवहारक शिक्षा’ दिने र भोलिका दिनमा यस्ता विषयवस्तुलाई निरन्तरता दिंदै प्राकृतिक विपत्ति तथा रोगब्याधीको महामारीका समयमा बच्ने उपाय अनि रोकथामका तरिकाहरुबारे शिक्षण गराउँदा बालबालिकाको सुरक्षा मात्र नभएर उनीहरु सदाका लागि महामारी बिरुद्धको सद्भावना दूत पनि हुनसक्छन् भन्ने मान्यता बोकेर गर्नुपर्दछ । बालबालिकालाई कोरोनाको त्रास देखाउने मात्र हैन कि सामान्य अनुशासन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे यसबाट सजिलै बचिन्छ भन्ने स्पष्ट भावनाको विकास गराउनु पर्दछ र यसका लागि शिक्षकहरुको नै महत्वपूर्ण भूमिका हुन्छ ।
कोरोना बिरुद्धको लडाइ भनेको केही लाख रुपैयाँ दिएर, केही हजार थान मास्क बाँडेर मात्र हुँदैन । शिक्षा नै सबैभन्दा ठूलो शक्ति भएकाले उचित र आवश्यकता अनुसार बालबालिकालाई कोरोना बिरुद्ध सही सूचना र जानकारी दिएर उनीहरुलाई कम्तिमा आफ्नो घर र छिमेकीसम्मका लागि मात्रै अभियानकर्मी बनाउनसके विद्यालय ‘ज्ञानको मन्दिर‘ भन्ने मान्यता पुनःस्थापित हुन्छ । अहिले त विद्यालय भनेको सामुदायिक भए जागीर पचाउने, निजी भए पैसा फलाउने रुख हो भन्ने गलत मान्यता स्थापित भैरहेका बेला यो समय हरेक विद्यालयले हामीहरु ज्ञान बाँड्ने नै हौं भन्ने मान्यतालाई स्थापित गर्न यो अवसर पनि हो ।
कोरोनाका विषयमा नजान्ने कोही छैनन्, तर के जानेर पनि के के गल्ती वा कमजोरी भरहेको छ भन्ने विषयमा शिक्षक–शिक्षिका अर्थात् विद्यालय र विद्यार्थीबीच अन्तरक्रिया हुने हो भने यसले छिट्टै नै नेपाली समाजलाई कोरोना भयबाट मुक्त गर्नेछ । बालबालिकाहरुलाई दिइएको यो ज्ञानले ऊ मात्र हैन ‘कोरोना केही हैन’ भन्ने उसका अभिभावकलाई समेत सचेत पार्न उनीहरु सक्षम हुनेछन् ।
यहाँ पनि समस्या उही छ– ‘बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने’ शिक्षाको नाममा किताब बाहेक अरु कुरै नदेख्ने र देख्नै नचाहनेहरुका अगाडि यस्ता कुरा कतै ‘भैंसीको अगाडि बीन’ बजाए जस्तो त हुने हैन ? तर, कोही न कोही विद्यालयका संचालक वा शिक्षक–शिक्षिकाले यो काम अघि बढाए पनि उनीहरु इतिहासमै अमर हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्