जन सरोकार

जापान जाने लोभमा यसरी फसे ४१ जना

विश्वको प्रमुख आर्थिक शक्ति राष्ट्र जापान नेपालीहरुका लागि अध्ययन तथा रोजगारीको निकै आकर्षक गन्तव्य हो । सो मुलुकमा हाल १ लाखभन्दा बढी नेपाली बसोबास गर्छन् ।

जापान जान जो कोही लालायित हुनु स्वाभाविक हो । यस्तै लोभमा परेर पूर्वी नेपालका ४१ जना युवाहरु जापानको गार्मेन्छ उद्योगमा काम गर्न जाने लाोभमा ठगिन पुगेका छन् ।

समाचार अनुसार जापानको गार्मेन्ट उद्योगमा काम गर्ने चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी र उनीहरुको सम्पर्कमा रहेका धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडीले ४१ ठूलो रकम ठगी गरेका हुन् ।

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।

यो प्रलोभनमा जापान जान तयार भएका ४१ जनामध्ये मोरङका मात्रै ४० जना युवाको पैसा डुबेको छ । यसरी पैसा डुब्ने र ठगिनेमा अजयको सम्पर्कमा आएका मोरङका ४० जना युवा एउटै राजवंशी समुदायका छन् ।

जापानको हल्ला गत चैतदेखि सुरु भएको थियो । वैशाखदेखि पैसा खोज्न र जम्मा गर्न थालिएको थियो । राजेन्द्रले सामान्य जापानी भाषा जान्नेहरूलाई लैजान सकिने भनेपछि पैसा बुझाएका युवाले विराटनगरको इडुमार्कमा अध्ययन गरे ।

उहाँहरूमध्ये अजयकी बहिनी विद्या, भाइ रञ्जित र रञ्जितकी श्रीमती अनुराधा पनि रहेको पीडित युवक हरि राजवंशीले बताउनुभयो । जापान जाने भनेपछि अनुराधा र रञ्जित विवाह बन्धनमा बाँधिएका थिए ।

राजेन्द्रले युवालाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाले जम्मा गर्ने पैसा अजयका भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो ।

मुख्य योजनाकार भनिएका राजेन्द्र र अजयले उठेको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रञ्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उहाँहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्रविरुद्ध उजुरी दिनुभएको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ ।

पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरू एकै पटक राजेन्द्र समूहको जालमा फसेपछि अहिले मोरङको दक्षिणवर्ती क्षेत्रका युवाको कन्तबिजोग भएको छ ।

बारम्बार कानुनी उपचारको खोजीमा रहेका उहाँहरूले अजयसहित अजयका भाइबुहारी र बहिनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन दिइएको छ ।

सुनवर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशीले गाउँ नै अशान्त भइरहेको बताउनुभयो । पैसा उठाउन लगाउने राजेन्द्र फरार भएपछि गाउँका युवाले गाउँकै व्यक्तिलाई समाउनुपर्ने माग राखिरहेको उहाँले बताउनुभयो । प्रशासनले तत्काल राजेन्द्रलाई नियन्त्रणमा लिएर सबैमाथि न्याय गर्नुपर्ने माग उहाँले गर्नुभयो ।

पैसा बुझाएर जापान जान नपाएका पीडित युवाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफूहरूको बाध्यता सुनाएका छन् ।

जापान जान पाउने प्रलोभनमा कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा तीनदेखि पाँच प्रतिशतसम्मको ब्याज दरले ऋणको ब्याज बढ्दै गएको छ । झापा कनकाई–१ का भवानीप्रसाद अधिकारीले आठ लाख रुपियाँ बुझाएको सुनाउँदै भन्नुभयो, “मोरङ आएर फसेँ, बिजोग भयो अब कसरी पैसा उठाउने चिन्ता थपियो ।”

जापान जाने धुनमा रहेकी कल्पना राजवंशीले चार लाख २० हजार रुपियाँ बुझाएको बताउनुभयो । त्यसपछि रकम जम्मा गर्ने युवाले सात लाख, आठ लाख, १० लाख हुँदै छ जनाले १६ लाख र एक जनाले १८ लाखसम्म बुझाएका छन् । उनीहरूले बैङ्कमा जम्मा गरेको पैसाबाहेक नगदसमेत बुझाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.