जन सरोकार

आगलागीमा परी निस्सासिएकी एक वृद्धाको उद्धार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको छ । सोमबार साँझ आगलागीले जलिरहेको घरबाट ७० वर्षीया तुलसी भुसालको उद्धार गरिएको हो ।

नेपाली सेनाका उपसेनानी मनोज कुँवर र नेपाल प्रहरीका प्रहरी निरीक्षक राजन भट्टराईको टोलीले भवनको भित्ता फोडेर चौथो तलाबाट बेहोस अवस्थामा रहेकी वृद्धाको उद्धार गरेको राजदल गण विमानस्थल सुर्खेतका प्रमुख सेनानी भद्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको जनाउँदै अहिले अवस्थामा सामान्य रहेको बताउनुभयो । प्रमुख सेनानी सिंहले बिजुलीको काम गर्ने क्रममा विद्युत् ‘सर्ट’ भएर आगो लागेको उल्लेख गर्नुभयो । पसलभित्र रबर, टायर र छिटो आगो सल्किने वस्तु रहेकाले नियन्त्रणमा कठिनाइ भएको उहाँले बताउनुभयो । उहाँले पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५०, सशस्त्र प्रहरी बल नेपाल नं ३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जनाको टोली, आयल निगाम सुर्खेतको दमकल र डिभिजन वन कार्यालय सुर्खेतको ट्याङकरसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.