जन सरोकार

सर्लाही र सप्तरीमा सडक दुर्घटना चारजनाको मृत्यु २० जना घाइते

सर्लाही र सप्तरीमा सडक दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । समाचार अनुसार पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफँै अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया की रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । उक्त यात्रुबसमा सवार बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ

त्यस्तै सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल चालक साहसहित तीन जना सवार प्रदेश नं २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा हुलाकी सडकखण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सम्बन्धित खबर

Back to top button