कम्बोडियाबाट झापा लगियो निराकारको शव
कम्बोडियाको एक क्यासिनो रहेको भवनमा भएको आगलागीको घटनाका कारण मृत्यु भएका झापा विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव शनिबार झापास्थित निवासमा लगिएको छ ।

कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उहाँको मृत्यु भएको थियो ।
शुक्रबार कम्बोडियाबाट काठमाडौँ ल्याइएको उहाँको शव शनिबार दिउँसो १२ः३० बजेतिर विर्तामोडस्थित निवासमा पुर्याइएको हो । स्व. पाण्डेको अन्त्येष्टि कनकाइ माईमा गरिने जनाइएको छ ।
युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया जानुभएको अवस्थामा उक्त घटना भएको थियो । उहाँको शव निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौँ शुभचिन्तकको भीड लागेको थियो ।
“एउटा होनहार युवाले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउँदा सबैको मन रोएको छ”, स्थानीय इजलास दैनिकका सम्पादक प्रदीप परियार भन्नुहुन्छ, “आज सिङ्गो विर्तामोड स्तब्ध भएको छ ।”
मृतक पाण्डे विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुनुहुन्थ्यो । पाण्डेको शव ल्याउन नेपाल सरकारले सहयोग गरेको छ ।
घटना लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शव ल्याउन सरकारले सहयोग गर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्