जापानबिचार

टोकियोमा घुम्दै जाँदा ऐरावत हात्तीमाथि ईन्द्र भगवानको मूर्ति देखेंपछि

कहिले टोकियो वरिपरिका पहाडको चढाई, त कहिले पार्क तथा उद्यानका परिक्रमा । कहिले रेष्टुरेन्टतिरको भेटघाट त कहिले घरायसी आत्मिक रमझम ! टोकियोका अत्याधुनिक संरचना र प्राकृतिक सुन्दरता हेर्दै त धेरै घुमियो।

यस बाहेक उल्लेख्य अरु के होलान् ? भन्ने चिन्तन हुँदा टोकियोको पहिचान बनिसकेको “आध्यात्मिकता” बारे बुझौं न त भन्ने केही साथीहरुबीच राय मिल्यो। साच्चै नै, टोकियोलाई हामीले त्यस दृष्टिकोणबाट कहिल्यै हेरेका थिएनौं। साथी श्री ताईगाजीको अगुवाईमा हाम्रो पहिलो यात्रा स्वरुप टोकियोको उत्तरपूर्बी भागको खाचुसीका शहरमा अबस्थित “शिबामाता ताईश्योकु” मन्दिर जाने कार्यक्रम बनायौं।

सुदीप अधिकारी

झण्डै ४ सय बर्ष अघि स्थापित यो मन्दिरमा मुख्य त रोग-ब्याधि जन्य आपतहरुबाट मुक्तिको कामना तथा अपशकुनहरुले छुन नसकुन भन्ने प्रार्थना गरिंदो रहेछ। हामी नेपाली भन्ने थाहा पाउने बित्तिकै, मन्दिरका सज्जनले “ईन्द्रदेब”लाई “ताईश्योकु” को नाममा आराधना गरिएको कुरो बताए।

साँच्चै नै ऐरावत हात्तीमा सवार ईन्द्रको मूर्ती भित्तामा कुँदिएको देखेर हामी पनि छक्क पर्यौं। “देवताको बिश्वब्यापीकरण” उतिबेला नै शुरु भैसकेको रहेछ। नेपालमा, बिशेष गरी काठमाडौंमा ईन्द्रजात्रा मनाइए पनि ईन्द्र भगवानको मन्दिर छैन (मेरो बुझाईमा)। तर, जापानमा भने उतिबेलादेखि नै ईन्द्र भगवानलाई प्रसन्न पार्नको लागि मन्दिर बनाइएको रहेछ।

महिनाको उल्लेख्य दिन (शायद तिथि जस्तै) मा बिशेष पूजा गरिने ब्यबस्थाबारे पनि जानकारी पायौं। हामीले पनि १०० येन तिरेर धूप सल्काई आफ्ना र परिवारजनको स्वास्थ्यको कामना गर्यौं। निकै पुरानो यो मन्दिर, दोस्रो बिश्वयुद्ध ताका त केही भाग आगलागी पनि भएको रहेछ। तर धन्न जापानी प्रबिधि र लगनशिलता ! मन्दिरलाई पहिलेकै अवस्थामा राख्न, अद्भुत काष्ठकलाहरु जोगाउन थुप्रै ब्यबस्था गरिएको देख्यौं।

शाक्यमुनी र हिन्दू देवताका स्वरूप अंकित अद्भूत काष्ठकला मन्दिरको यत्रतत्र देखिन्थ्यो। रोग ब्याधबाट मुक्ति पाउनकोलागी जपिने “लोटस सुत्र” बुझाउने अति सुन्दर कलाकृति मनै हर्ने खालका थिए। केही युवाहरु पनि मन्दिरको पुजारीका रुपमा देखिन्थे। शनिबार बिदाको दिन भएर पनि होला, भक्तजनको उल्लेख्य उपस्थिती देखिन्थ्यो।

तर कतै अनियन्त्रित सामान बेच्नेको घुईंचो, हल्ला थिएन। अरुबेला आफूलाई ब्यस्त भन्न र बन्न रुचाउने जापानीहरु, अपबाद बाहेक कसैले त्यहां फोन चलाउने, फोनमा कुरा गर्ने, फोटो खिच्ने गरेनन्। जहां जे गर्नु पर्ने हो, मन लगाएर त्यही काम गर्ने सामान्य तर अभूतपूर्ब अनुशासन हेर्न पाईयो।

४०० येन थप तिरेपछि, यो मन्दिरको भित्री बगैंचा पनि हेर्न पाइने रहेछ। सुन्दर जापानी बगैंचामा रहेको सानो पोखरी र त्यहां रमाईरहेका माछाहरु हेर्दा अर्कै संसारमा पुगेको अनुभव हुने ! कति शान्त, कति आनन्द!! उहिले यो मन्दिर किसानहरुको आराध्य देब रहेछन्।

टाढाटाढाबाट यहां मेला भर्न किसानहरु अघिल्लो रात नै आइ, भोलिपल्ट पूजाआजा सकिओरी उल्लासमय पर्व मनाएर फर्कने गर्दा रहेछन्। अहिले स्थानिय रुपमा किसान निमिट्यान्नै भएपनि यस मन्दिरमा गरिने पूजा र सम्मानमा भने रत्तिभर फरक भएको रहेनछ।

“शिबामाता” ट्रेन स्टेशन आफैंमा अरु नियमित स्टेशन भन्दा फरक पाइयो । सन् १९७०-८० ताकाको प्रसिद्ध सिनेमा “ओतोको वा चुराई” (लोग्ने मानिसहरुलाई त गार्हो छ) को मुख्य अभिनेता श्री तोरा (तोरा सान) यहीं शिबाता वरिपरिका रहेछन्। त्यसैले ट्रेन स्टेशन र वरिपरि पनि “ओतोको वा चुराई” र “तोरा सान” सम्बन्धि शालिक, फोटो, पम्पलेट यत्रतत्र देखिने। शहर नै खुला संग्रहालय जस्तो।

कामको लागि अर्को शहर जान ठीक परेको तोरा सानलाई बिछोडको आँशु सहित बिदा गर्दै उभिएकि उनकि मायालुको शालिक निकै मार्मिक लाग्यो। हुन त यो दृष्य हाम्रो नेपालमा अहिलेको नियति नै भैसकेको छ।

यहाँ रेष्टुरेन्टहरुले पनि त्यो जमानाका परिकारहरु पस्कने रहेछन्। साँच्चै “५० बर्ष अघिको जापान” मा पुगेजस्तो। हामीले पनि कफि संग “मोचि दांगो” ( उसिनेको चामललाई कुटीकुटी बनाईएको रबरजस्तै चाम्रो हलुवा रुपी डल्ला) स्वाद मानीमानी खायौं। संगैको अर्को पसलेदाई चाहिं हाम्रै अगाडि जांतोमा पिनेको फापरको पिठोलाई मुछेर “सोबा” (चाउचाउ जस्तै परिकार) बनाएर बेच्ने तरखर गर्दै थिए, हामीले भर्खरै मोचि दांगो खाएकाले मन हुंदाहुंदै पनि नखाई अगाडि बढ्यौं।

त्यसपछि खाचुसिका शहरको शिरानीमा रहेको आदाची शहरमा अवस्थित “निशिआराई मन्दिर” तिर गयौं। यो मन्दिर ट्रेन स्टेशनमै जोडिएको रहेछ। ट्रेनबाट ओर्लने बित्तिकै “धूपको कस्तो मिठो बासना” भन्दै साथी श्री आलोकजीले हामीलाई डोहोर्याउनु भयो। “लौ बितायो, पहिलो मन्दिरमा ईन्द्रको आराधना गरेको, यति चांडै सुनुवाई भएछ !”

बिलखबन्दमा पर्दै स्टेशन बाहिर पानी परिरहेकोले छाता किन्न नजिकैको पसल छिर्नु भयो। बालबच्चाको निरोगिता, पढाईमा सफलता र मनोरथ परिपूर्णताको लागी यो मन्दिर जानेहरुको त भिंड नै लाग्दो रहेछ। यहांको अनौठो पक्ष चाहिं मन्दिरको प्रबेशद्वारमा रहेको द्वारपालक जस्तै एउटा मूर्तीलाई नूनले पुछेर र आफूलाई पनि हल्का छर्केर प्रबेश गर्नु पर्ने रहेछ । नून जापानी समाजमा दूषित कुराहरुलाई पखाल्ने, आफूमा आउन नदिने बस्तुको रुपमा पनि प्रयोग गरिन्छ।

ताईगाजीले “नेपालमा पशुपति मन्दिरको केही सामान सित्तैमा लिएमा “शिबश्व” लागे झैं यहां पनि त्यस्तै हो भनेर बुझाउनु भयो। हामी पनि त्यो ऋण ब्यर्थ किन बोक्नु भन्दै नुन प्रयोग गरे बापत १०० येन चढाएर अघि बढ्यौं। उल्लेख्य चाहिं, यहां आफ्ना ईच्छाप्राप्तिको लागि अग्नि समर्पण (हवन) गरिंदो रहेछ जसलाई “गोमा” भन्दा रहेछन्।

“गोमा” शब्द “होम” बाट अपभ्रमंश हुंदै आएको बिश्वास गरिंदो रहेछ। आफ्नो ईच्छा अनुसारको मनोकामनाकोलागी पहिले मन्दिर ब्यवस्थापन अफिसमा गई आवश्यक शुल्क तिर्नु पर्ने रहेछ। त्यही अनुरुप सामुहिक हवन गर्ने बेला शुल्क तिरेका भक्तजनको नाम ठेगानाको बाचन गर्दै आहुती चढाईने रहेछ। हवन सकिए पछि मन्दिरको प्रस्थान द्वारबाट ती भक्तजनहरुलाई प्रसादको ब्यबस्था गरिएको हुनेरहेछ। यो हवन प्रत्येक दिन दिनको ७ पटक जति गरिने रहेछ।

यसरी भक्ति गर्न सकियोस् भनेर निकै उदार ब्यबस्था गरिएको महसुस गर्यौं । नेपालका पनि केही मन्दिरमा यस्तो प्रयास शुरु भैसकेको छ। हामी चाहिं उही एउटा ढ्याक १०० येनको धूपबालेर परिवारजनको “राम्रो”को कामना गर्दै बिदा भयौं।

फेब्रुवरी महिनाको छोटो दिन, यतिकैमा हाम्रो पनि घुमाईको कार्यक्रम पुरा भएकोले आजको यात्राबारे समिक्षा गर्दै अघि बढ्यौं। जापानीहरु बाहिर “अत्याधुनिक” देखिए पनि आफ्नो परम्परा र संस्कृतिलाई हदैसम्म माया गर्ने मानिसहरु हुन् भन्ने मित्र श्री डबलजीको कुरामा हामी सबै सहमत भयौं। आफ्नो पुरातन संस्कृतीलाई त्यसै मासिन दिनु हुन्न, बरु त्यसबारे आवश्यक अध्ययन अनुसन्धान गरेर समय अनुसार परिमार्जन गर्दै लानुपर्छ।

मुल कुरो, सबैको “पहुँच र बुझाई” मा पुर्याउनु पर्ने रहेछ। यसबाहेक, आध्यात्मिकता भनेको पूजा पाठ भन्दा पनि आफूले गर्नुपर्ने कर्म, अशल नियतले गर्नु र अरु प्रति करुणा राख्नु नै त होईन? भन्ने तर्फपनि हाम्रो बुझाई गहिरियो।

मन्दिरमा भगवान प्रति अगाध श्रद्धा राखेर पूजाआजामा तल्लीन पूजारी, आफ्नो काम दत्तचित्त भएर गर्ने कर्मचारी, नियम पूर्वक आफ्नो ब्यबसाय गर्ने ब्यापारी, समाजको सबै तत्वले यदि अरुमा करुणा राख्छन् भने सबै ”आध्यात्मीक यात्रा”मा अग्रसर छन्। निचोड यस्तै रह्यो।

पुनश्च :

बिश्वकै अत्याधुनिक शहरहरुमध्ये गनिने टोकियो आफ्ना अद्भुत सार्बजनिक यातायात, सफा र ब्यबस्थित शहरिकरण अनि सुरक्षाको दृष्टिले सार्है प्रसिद्ध छ। संगै, आफ्नो गर्बिलो ईतिहास र अहिलेसम्म जिउँका तिउँ चलिरहेका शताब्दियौं पुराना धार्मिक परम्परा पनि टोकियोको चिनारी हुन्।

लामो समयदेखि टोकियो सहरमा बसोबास गरिरहेका स्तम्भकारले केही उत्साही साथीहरु सहित टोकियोका केही पुराना टोल र मन्दिरहरु घुम्ने क्रममा पहिलो श्रिंखलाको बर्णन यसमा गरेका छन्। भबिष्यमा पनि यस्तै जानकारीमूलक लेखहरुको अपेक्षा गर्दछौं।

(टोकियो, जापान)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.