राजनीति

होलेरी बजार कांग्रेस, एमाले र माओवादीका नेताबाटै अतिक्रमणको चपेटामा

रोल्पाको ऐतिहासिक होलेरी बजार अतिक्रमणको चपेटामा परेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र (माओवादी केन्द्र)का स्थानीयस्तरका उच्च राजनीतिक हैसियत भएका नेताहरू नै ऐलानी जग्गामा घरटहरा बनाएको स्थानीयवासीको भनाइ छ ।

होलेरी बजार क्षेत्रस्थित विद्यालय र मन्दिरका नामका जग्गाका साथै सामुदायिक वन क्षेत्र तथा ऐलानी जग्गासमेत अतिक्रमण गरी घरटहरा बनेका छन् ।

बजार क्षेत्रको ऐलानी जग्गासमेत अतिक्रमण भएका छन् । होलेरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयको स्वामित्वको जग्गामा ठूलठूला भवन र टहरा बनेको स्थानीयवासी नन्दराम खड्काले जानकारी दिनुभयो । मन्दिरको जग्गामा ग्यारेज तथा सामुदायिक वन र ऐलानी जग्गामा घरटहरा बनेका छन् खड्काले भन्नुभयो ।

अतिक्रमण हटाउन स्थानीय सरकारले पहल गरे पनि सार्थक हुन नसकेको स्थानीयवासीको भनाइ छ । “बजार क्षेत्रको गुरुयोजना बनाएर अगाडि बढ्ने सहमति भए पनि हालसम्म कार्यान्वयन भएको छैन”, उहाँले भन्नुभयो । स्थानीय सरकारले विभिन्न कार्यक्रममा लाखौँ बजेट खर्च गरे तापनि केही गर्न नसकेको गुनासो गर्नुभयो ।

“सर्वपक्षीय बैठकको आयोजना गरेर समस्या हल गर्ने प्रयास गरेका छाँै”, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भन्नुभयो । सो ठाउँमा तीन/चार थरीका जग्गा भएको पाइएकाले नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गा छुट्याउने काम हुँदैछ उहाँले बताउनुभयो ।

वन क्षेत्र, मन्दिर, सडक, सार्वजनिक जग्गा सबै भएको हुँदा भूमि व्यवस्थापन आयोगको प्रक्रियाबाटै टुङ्ग्याइने अध्यक्ष बुढाको भनाइ छ । उहाँले भन्नुभयो, “पन्ध्र दिनभित्र अतिक्रमित जग्गा छोड्न भनिएको छ, नछोडे कानूनी प्रक्रिया अगाडि बढ्छ ।”

स्वर्गद्वारीको प्रवेशद्वारका साथै स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रुन्टीदेखि नजिकको दूरीमा रहेकाले होलेरीमा दैनिक हजारौँ तीर्थयात्री आवतजावत गर्दछन् ।

दक्षिण रोल्पाको महत्वपूर्ण व्यापारिक नाकासमेत रहेको होलेरी १० वर्षे सशस्त्र जनयुद्ध घोषणा गर्दा तत्कालीन विद्रोही नेकपा माओवादीले पहिलोपटक प्रहरीमाथि आक्रमण गरेको ठाउँ हो । धार्मिक, युद्ध र पर्या–पर्यटनका रूपमा विकास हुँदै गरेको होलेरी बजार क्षेत्रको अतिक्रमणले स्थानीयवासी चिन्तित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button