विश्व समाचार

ट्रम्प पछिहटे पनि विश्वव्यापी हरित ऊर्जाको दबाब जारी रहने

संयुक्त राष्ट्रसङ्घले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई फिर्ता लिने डोनाल्ड ट्रम्पको निर्णयले सम्झौताले सिर्जना गरेको नवीकरणीय ऊर्जा लगानीतर्फको विश्वव्यापी गतिलाई सुस्त पार्न नहुने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का प्रमुख सेलेस्टे साउलोले भन्नुभयो, “धेरै देश हरित ऊर्जाको दिशामा अघि बढ्नेछन् भन्ने मलाई विश्वास छ” ।

सोमबार पदभार ग्रहण गरेपछि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न १९५ पक्षले अपनाएको सन् २०१५ पेरिस सम्झौताबाट अमेरिका फिर्ता हुने घोषणा गर्नुभयो ।

आलोचकहरूले यो कदमले जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी सहकार्यलाई कमजोर पार्ने र अन्य देशहरूको जलवायु कार्यप्रतिको प्रतिबद्धतालाई कमजोर पार्नसक्ने चेतावनी दिएका छन् ।

तथापि डब्लुएमओ प्रमुख साउलोले एएफपी र रोयटर्ससँगको संयुक्त अन्तर्वार्तामा अमेरिकाको बहिर्गमनले हरित ऊर्जामा फाइदाजनक भइरहेको लगानीलाई रोक्न नसक्ने बताउनुभयो ।

“नवीकरणीय ऊर्जा स्रोतहरूतर्फको यात्रा जारी छ र… देशहरूलाई समृद्धि ल्याउँछ”, उहाँले स्विस स्की रिसोर्ट शहर डाभोसमा विश्व आर्थिक मञ्चको अवसरमा भन्नुभयो, “त्यो परिवर्तन हुनेछैन ।”

उहाँले ‘मानिसहरूले वास्तवमै धेरै फाइदाजनक र साथै हरित पहल भएका लगानीहरूबाट पछि हट्ने’ अपेक्षा नगरेको बताउनुभयो । “मलाई लाग्छ कि पेरिस सम्झौतासँगै सुरु भएको गति र प्रगति त्यहीँ छ”, उहाँले भन्नुभयो ।

पूर्व चेतावनीहरू

ट्रम्पले यसअघि सन् २०१७ मा आफ्नो पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकालाई पेरिस सम्झौताबाट फिर्ता लिनुभएको थियो तर सन् २०२१ मा पदभार सम्हालेपछि पूर्वराष्ट्रपति जो बाइडेन पुनः प्रवेश गराउनुभएको थियो ।

ट्रम्प सत्तामा फर्किएको पहिलो दिन सोमबार गरिएको घोषणाले सम्झौताको नियमअन्तर्गत संयुक्त राज्य अमेरिका एक वर्षभित्र औपचारिक रूपमा बाहिर निस्कने सङ्केत गरेको छ ।

सन् २०२४ मा विश्वव्यापी औसत तापक्रम रेकर्ड उचाइमा पुगेको बेला उक्त घोषणा आएको छ । जबकि विगत दुई वर्षमा विश्व औसत तापक्रमले अस्थायी रूपमा पहिलो पटक १.५ डिग्री सेल्सियसको महत्त्वपूर्ण तापक्रम सीमा पार गरेको छ ।

ट्रम्पको कदमका बारेमा सोधिएको प्रश्नमा साउलोले भन्नुभयो, “यो एउटा सार्वभौम देशको निर्णय हो र हामीले यसलाई स्वीकार गर्न आवश्यक छ ।”

उहाँका अनुसार अब डब्लुएमओको ध्यान एजेन्सीसँग ‘अमेरिकाको बलियो सहयोग र संलग्नता जारी राख्ने’ मा केन्द्रित हुनेछ ।

विशेष गरी चरम मौसमी घटनाहरूको पूर्व चेतावनी प्रणाली स्थापना गर्ने कामलाई ‘असर नपर्ने’ उहाँले बताउनुभयो ।

चरम मौसमी घटनाहरू बढ्दै गएको अवस्थामा संयुक्त राष्ट्रसङ्घले सन् २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई बाढी, खडेरी, गर्मीको लहर र आँधीको पूर्व चेतावनी प्रणालीले सुरक्षित गर्न चाहेको बताएको छ ।

साउलोले डब्लुएमओ र अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) बीचको घनिष्ठ सहयोगमाथि प्रकाश पार्नुभयो । एनओएएको काम ‘विश्वव्यापी रूपमा धेरै प्रभावकारी’ रहेकामा उहाँले जोड दिनुभयो ।

“म निश्चित छु त्यो उस्तै लाइनमा जारी रहनेछ, किनभने आसन्न विपत्तिहरूको पूर्व चेतावनी जारी गर्न जलवायु सूचनाको प्रयोग गर्ने सहित उनीहरूले जीवन बचाइरहेका छन्”, उहाँले भन्नुभयो, “म भन्न सक्छु कि संयुक्त राज्य अमेरिका निर्णय लिनका लागि जलवायु सूचनाको सबैभन्दा बढी प्रयोग गर्ने देशहरूमध्ये एक हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.