बिचार

'महेन्द्र संस्कृत विश्वविद्यालय' र 'नालन्दा'मा लगाइएको आगोको समानता

केही साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको अन्तर र समानताको व्याख्या अनि आफ्नो मौलिकताको चर्चा भारतीय टेलिभिजन अन्तरवार्तामा गर्दा उहाँको बौद्धिक क्षमताको ठूलो तारिफ भयो । भारतीयहरुलाई नै थाहा नभएको इतिहास उहाँले उठाइदिंदा पत्रकार स्वयं हेरेको हेर्यै भए । ऋषिमुनीहरुदेखि गुरुकुल र तपस्यास्थल अनि योग, गायत्री मन्त्र, राम जन्मभूमि लगायतको व्याख्यानमा प्रधानमन्त्री ओलीले दिनुभएको तर्कले भारतमै पनि नयाँ तरंग ल्याएको छ । मूलतः प्रधानमन्त्री ओलीले भारतलाई बाहिरी देशको इशारामा हैन, आफ्नोपनमा विश्वास गर्न र त्यसको खोजी गर्न आव्हान गर्दै नेपाल र भारतमा सबथोक छ तर चिन्न नसकेको भन्दै नालन्दा विश्वविद्यालय (गुरुकुल)मा भएको विध्वंशको चर्चा गर्नुभएको थियो ।

हुन पनि, नेपाल र भारत वैदिक सनातन धर्म, संस्कृति, संस्कार र पद्धतिको प्रमुख थलो हुन् । यी दुई मुलुकमा वैदिक सभ्यताको दुई भिन्न श्रेणीमा पुराणहरुमा वर्णन गरिएको छ । नेपाल ज्ञानभूमि, तपो भूमि हो भने भारत कर्मभूमिका रुपमा चित्रित गरिएको छ । यी दुई भूमिबाट विश्वमा ज्ञान, विज्ञानको प्रचार भएको पूर्वीय साहित्य, दर्शन र वेदका ज्ञाताहहरु बताइरहन्छन् । अनि इतिहासलाईँ हेर्ने हो भने यी दुई भूमिको धर्म, संस्कृति, सभ्यता र परम्परा नष्ट नगर्दासम्म आफ्नो अस्तित्व विस्तार गर्न सकिन्न भन्दै अनेक षडयन्त्र भैरहेको छ ।



हजारौं वर्षअघिदेखि चलिआएको यो क्रम अहिले पनि जारी छ । नेपालमा राजनीतिक अधिकार र स्वतन्त्रताको नाममा धर्म परिवर्तनको लहर चलेको छ । अनि संस्कृतका पुस्तकहरु जलाउने, संस्कृतका विद्वानहरुको हत्या गर्ने, उनीहरुको संस्कार बिटुल्याउने, वैदिक कर्म गर्न नदिने काम पनि भएकै हो ।

यसमा पश्चिमा मुलुकहरुको स्वार्थ ठूलो छ र उनीहरुकै लहैलहैमा लागेर नियोजित रुपमा नेपालमा धार्मिक, सांस्कृतिक सहिष्णुतामाथि प्रहार भैरहेको छ । जबसम्म वैदिक संस्कृतिलाई समाप्त पार्न सकिंदैन तबसम्म आफ्नो हैकम कायम गन सकिंदैन भन्ने पश्चिमा मुलुकको रणनीति सदियौं पहिलेदेखि चलिआएको छ ।

यस्तै षड्यन्त्रको शिकार भएको थियो नालन्दा पुस्तकालय । विश्वको प्राचीन विश्वविद्यलयका रुपमा हालतको भारतको बिहार राज्यको नालन्दा जिल्लाको सदरमुकाममा रहेको नालन्दा गुरुकुलमा त्यतिबेला विश्वकै सबैभन्दा ठूलो पुस्तकालय थियो । सो पुस्तकालयमा हरेक विषयका पुस्तक थिए र चिकित्सा विज्ञान, समाजशास्त्र, अर्थशास्त्र, नैतिक शास्त्र, शिक्षाशास्त्र लगायत सृष्टि संचालन र यसलाई व्यवस्थित गर्ने सबै ज्ञान त्यहाँ पाइन्थ्यो ।

सातौं शताब्दीमा विश्वकै सबैभन्दा ठूलो ज्ञान केन्द्रका रुपमा स्थापित नालन्दा गुरुकुल १३ औं शताब्दीसम्म आइपुग्दा पूर्णत नष्ट भयो । यसको एउटा कारण त्यहाँ अवलोकन गर्न आउनेहरु र आचार्यहरुबीचको झगडापछि यहाँ ठूलो क्षति भएको थियो । ११९९ मा टर्किस आक्रमणकारी बख्तियार खिलजीले नालन्दालाई जलाएर पूर्णत नष्ट बनाइदिए भनिन्छ । यसको रोचक कथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पत्रकारलाई सुनाउनुभएको थियो । त्योा आगो ४ वर्षसम्म लागेको थियो र झण्डै चारलाख पुस्तक जलेका थिए । यो स्थान अहिले बिहारको एउटा प्रमुख पर्यटकीय क्षेत्र बनेको छ ।

नौ तलाको सो पुस्तकालयमा ३ लाखभन्दा बढी पुस्तक थिए । तर त्यसलाई साम्राज्यवादीहरुले आगो लगाइदिए, पूर्वी संस्कृति, संस्कार, सभ्यता र ज्ञानको ठूलो भण्डार खरानी बनाइदिए । यहीँ कुरा प्रधानमन्त्री केपी शर्मा ओलील भारतीय समाचार च्यानल जी न्यूजका पत्रकार सुधीर चौधरीसंगको अन्तरवार्तामा बताउँदा पत्रकार जिल्ल परेका थिए ।

अब नेपालको सन्दर्भ– आधुनिक कालखण्डमा नेपालमा पनि संस्कृतका पुस्तकहरु जलाउने काम भए । १० वर्षे जनयुद्धमा संस्कृत भाषा, संस्कृत अध्ययन र संस्कृत पुस्तकहरुकै कारण समाजमाा विभेद भएको भन्दै आगो झोसियो । नेपालको एकमात्र संस्कृत विश्वविद्यालय दाङमा रहेको महेन्द्र संस्कृत विश्वविद्यालयमा आगो लगाइयो । आगलागीबाट त्यहाँका कति बहुमूल्य पुस्तकहरु जलेर नष्ट भए यो अहिले पनि खोजीकै विषय छ । तर आन्दोलन, क्रान्ति र समाज रुपान्तरणका नाममा इतिहासमा कलंकित हुने काम भयो, राष्ट्रलाई ठूलो क्षति भयो ।

पुनः संस्कृत विश्वविद्यालयका कुरा गरौं, तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय नेपालको दोस्रो विश्वविद्यालय हो । पञ्चायनकालमै धर्म परिवर्तन र संस्कृत भाषा, शिक्षामाथि विदेशीबाट प्रहार हुन थालेपछि यसलाई बचाउन सन् १९८६ (बि.सं. २०४२) सालमा स्थापना गरिएको हो । तर यही संस्कृत विश्वविद्यालयमा स्वदेशी कथित क्रान्तिकारीहरुबाट आगो झोसियो, अथाह सम्पत्ति खरानी भयो ।

एउटा पुस्तकले समाज रुपान्तरण गर्न सक्छ । अझ शास्त्रहरुले समाजलाई दिने उचित मार्गदर्शनको पालना गर्नु र त्यसलाई बढीभन्दा बढी अध्ययन–अध्यापन र व्यवहारमा लागू गराउनु पर्नेमा ती पुस्तकहरुमै आगो झोसिएपछि नेपालको मौलिकता नै नष्ट गर्न बेर लाग्दैन । अहिले यस्तै भैरहेको छ । इतिहासहरु साक्षी छन्– पौराणिककालमा समानता, स्वतन्त्रताको उच्चतम उपभोग गरिएको थियो । पूर्वीय जीवनशैली त्यसरी नै शास्त्रसम्मत चलेको थियो ।

अहिले शास्त्रको स्थान शस्त्रले लिएको छ र शास्त्र समाप्त पारेर शस्त्र स्थापित भएको छ । भारत र नेपालकै सन्दर्भमा प्रधानमन्त्री ओलीले शास्त्र छाडेर पश्चिमाहरुको पछि लाग्दै शस्त्रमा विश्वास गरेर दुई मुलुकबीच समस्या आएको समेत बताइदिनुभयो ।

शास्त्र छाडेर शस्त्रमा विश्वास गर्ने आफ्ना पिता पुर्खाको महान कार्यको स्मरण नगरी (अझ सालिक नै भत्काउने) पश्चिमा विद्वानहरुको फोटो झुण्ड्याएर उनीहरुकै सिद्धान्त घोकेर कोरा भौतिकवादमा उफ्रदै द्रव्यमा हुरुक्क हुने र अनैतिक, पतीत, भ्रष्ट बनाउने आधुनिक शिक्षालाई स्थापित गर्न संस्कृत शिक्षाको बिरोध मात्र हैन संस्कृत विश्वविद्यालयमै आगो लगाइयो । यो नै हाम्रो दुर्भाग्यको द्योतक बन्यो । राजनीतिक उपलब्धिका नाममा घर डढाएर खरानी घस्ने प्रवृत्ति कायमै छ ।

‘ब्राह्मणवाद’ भन्दै शिक्षकहरुको हत्या भयो, जनै र टुपी काटियो, शास्त्रले ज्ञान दिन्छ भन्ने जान्दाजान्दै विध्वंश मच्चाउन चाहनेहरुले शस्त्रको बलमा त्यसलाई खरानी बनाउन उद्यत भए । ब्राह्मणवाद भनेको ज्ञानको सिद्धान्त हो जात वा सम्प्रदाय हैन भन्ने बुझ्नै चाहेनन् । अहिले पनि समानताको कोरा नारा घन्काएर धर्म निरपेक्ष भन्दै विधर्मीहरुको रजगजलाई निम्ता दिइएको छ । यसमा सुधार हुनु जरुरी छ । आशा गरौं भविष्य त्यस्तै मार्गमा अग्रसर होस् ।

सम्बन्धित खबर

Back to top button