राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिले राप्रपा र रास्वपालाई पर्ला नैतिक संकट ?

वर्तमान व्यवस्थालाई नै परिवर्तन गर्नुपर्छ भन्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रदेशहरुको वर्तमान संरचनामा सुधार गर्नुपर्छ भन्दैआएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिक संकटमा पारिदिनुभएको चर्चा चल्न थालेको छ ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रयसभामा बोल्दै सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने संवैधानिक र नैतिक अधिकार कसैलाई नभएको र त्यस्तो बोले स्पष्टीकरण दिनुपर्ने चेतावनी दिनुभएपछि यो विषय उठेको हो ।

प्रधानमन्त्रीको यो चेतावनीपछि संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रसहितको हिन्दु राष्ट्र हुनुपर्ने एजेण्डामा रहेर गणतन्त्रका सूत्रधार मानिने प्रचण्डको सरकारमा सामेल भएको राप्रपालाई नैतिक संकट परेको छ ।

प्रधानमन्त्रीको यो चेतावनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रको बिरुद्धमा रहेका दलहरुले कि सरकारबाट बाहिरिनपर्छ कि गणतन्त्र स्वीकार गरेको घोषणा गर्नुपर्ने सुझाव दिनुभएको छ ।

थापाले ट्वीट गर्दै भन्नुभएको छ, “प्रधानमन्त्रीको यो स्प्ष्ट अभिव्यक्ति पछि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा रहेका दलहरुले नैतिकता छ भने सरकारबाट तत्काल राजिनामा दिनुपर्छ वा आफ्नो अडान परिवर्तन गरी संघिय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेको घोषणा गर्नुपर्छ ।”

त्यसो त प्रधानमन्त्री प्रचण्डले सरकारमा बसेर नैतिक रुपमा गणतन्त्र बिरुद्ध बोल्न नपाइने हो भन्ने स्पष्ट पनि पार्नुभएको छ । उहाँले बाहिर राजनीतिक दल, सांसदलाई आफ्नो धारणा राख्ने अधिकार भए पनि मन्त्रिपरिषदमै बसेर त्यसविरुद्ध बोल्ने अधिकार नभएको बताउनुभएको हो ।

प्रधानमन्त्रीले संघीयता वा गणतन्त्र बिरुद्ध कसैले पनि बोल्न नपाउने भनेको नभै मन्त्रिपरिषद्मा यस विषयमा बोल्नु कानुन र नैतिकता विपरीत हुने भएकाले स्पष्टीकरण दिनुपर्ने हुनसक्छ भन्नुभएको हो ।

तर, राजनीतिक खपतका लागि तर्कलाई आफ्नै ढंगले विश्लेषण गर्ने र समाचारका शीर्षक मात्रै पढेर टिप्पणी लेख्ने बानीले गर्दा कुरोको चुरो अन्यथा हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.