प्रदेशमधेश

जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरियो

जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट सरकारमा सहभागी शिक्षा तथा संस्कृतिमन्त्री र श्रम तथा यातायातमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएसँगै जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।

जनमत पार्टी

मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री यादवसमक्ष सामूहिकरूपमा राजीनामा बुझाउनुभएको जानकारी दिनुभयो ।

यसअघि आजै जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता एवं शिक्षा तथा संस्कृतिमन्त्रीसमेत रहनुभएका महेशप्रसाद यादवले संसदीय दलको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पत्र प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बुझाउनुभएको थियो ।

“मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकामा आजैका मितिबाट संसदीय दलको बैठकको निर्णयअनुसार सो समर्थन फिर्ता लिइएको जानकारी गराउँदछौँ”, प्रदेश प्रमुख मिश्रलाई बुझाइएको पत्रमा भनिएको छ ।

यादवले सरकार गठन भएको एक वर्षसम्म पनि सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको र सरकारमा रहेका आफ्नो पार्टीका मन्त्रीलाई समेत काम गर्ने वातावरण नरहेको भन्दै राजीनामा बुझाइएको बताउनुभयो । “हामीलाई दिएका मन्त्रालय फुटाउने, बिनाविभागीय भूमिका दिने, केही काम गर्न खोजेमा अवरोध गर्ने र हाम्रै मातहतमा रहेका मन्त्रालय तथा सम्बद्ध कार्यालयका गतिविधिसमेत हामीलाई जानकारी नदिएर गर्नेजस्ता कारणले सरकारमा बसिरहन उचित लागेन । त्यसैकारण हामीले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णयबारे प्रदेश प्रमुखलाई र मुख्यमन्त्रीलाई जानकारी गराएका छाँै”, यादवले सञ्चारकर्मीसमक्ष भन्नुभयो । मधेस प्रदेशसभामा जनमत पार्टीका १३ सदस्य रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.