राजनीति

प्रेमप्रसादको आत्मदाहले खडा गरेको प्रश्न

मंगलबार संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको बुधबार विहान मृत्यु भएपछि यसले नेपालको राजनीतिमा हलचल ल्याएको छ ।

यो विषयले कसको कति मन छोयो वा रोयो त्यो आफ्नै ठाउँमा होला, तर जिम्मेवार राजनीतिज्ञले यो घटनालाई आफ्नो कमजोरीका रुपमा स्वीकार्नै पर्दछ । यस्तै काम उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गर्नुभयो ।

लामिछानेले बुधबार सामाजिक सञ्जालमा आचार्यको आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउँदै एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो र ? भन्नुभएको छ ।

लामिछानेले भन्नुभएको छ, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन’, लामिछानेले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला ।’

यसै गरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आत्मदाहको आत्मदाहका धेरै कारण र संकेतहरु भए पनि ठूलो कारण राज्य भएको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेका हरेक चरणमा राज्य असफल भएको छ । ‘राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

साहले नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उल्लेख गर्दै नागरिकले गर्नुपर्ने सामान्य दायित्व पूरा गर्नुपर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन भन्नुभएको छ ।

बालेनले प्रेमप्रसाद आचार्यले एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा त्यसको विद्रोह गरेको र त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना भएको समेत टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा बालेनले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सीप सिक्ने र ती सीपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको र नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भूमिकाबाट कठोर भई निभाउन अपील समेत गर्नुभएको छ ।

यसै गरी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रेमप्रसादको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको प्रतिक्रिया दिनुभएको छ ।

शर्माले ट्वीट गर्दै भन्नुभएको छ- “प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ! नीति´ बदलिएर पुगेन, थिती´ बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ l उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ l केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन l”

त्यसै गरी सांसद डा. सिके राउतले प्रेम आचार्यको आत्मदाहले नेपालमा अरब क्रान्ति जस्तै क्रान्ति त ल्याउने भन्ने जिज्ञासा राख्नुभएको छ ।

राउतले ट्वीट गर्दै लेख्नुभएको छ, “प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न तर गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेकै हो। श्रद्धाञ्जली !”

यसै गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आत्मदाह गलत भए पनि आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजि हुनुपर्ने माग गर्नुभएको छ ।

थापाले ट्वीट गर्दै लेख्नुभएको छ, “आत्मदाह गलत हो, तर आत्मदाहको अवस्थासम्म पुग्नुपर्ने अवस्थाको खोजि हुनुपर्छ।प्रेम आचार्यले उठाएका कतिपय विषयलाई सरकार,दल र समाजले यथोचित ध्यान दिनुपर्छ,सम्बोधन गर्नुपर्छ। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !”

मुलुकमा भित्रिएको चरम बेथिति, विकृति, विसंगती, कुशासन, भ्रष्टाचारको जालोले जेलिएका केही गरौं भन्ने युवाहरुको निराशाको प्रतिनिधि घटना हो । यो घटनालाई राजनीतिकरण गरेर कसैले कसैलाई दोषी देखाउनुभन्दा अब यस्तो अवस्था नआआस् भन्नेतिर सबैको ध्यान केन्द्रित हुनुपर्दछ ।

प्रेमप्रसादले आफैंलाई आगो लगाउनुअघि सामाजिक सञ्जालमा लेखेको भनिएका विषयहरु यो देशको वास्तविक चित्र हो र यसलाई सुधार गर्नसके मात्र उनको मृत्युमा आँसु भरिएका शब्द खर्च गर्नुको अर्थ रहन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.