जन सरोकार

लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन

ऐतिहासिक एवं पुरातात्विक महत्वको कमलपोखरीको अस्तित्व मास्न खोजिएको भन्दै स्रष्टा एवं साहित्यकारले प्रदर्शन गरेका छन् । सांस्कृतिक बाजागाजासहित कमलपोखरीबाट शुरु भएको र्याली टङ्गालस्थित भाटभटेनी मन्दिर अघिको चौतारीमा पुगी सभामा परिणत भएको थियो ।

र्यालीमा वरिष्ठ पत्रकार नारायण वाग्ले, साहित्यकार खगेन्द्र सङ्ग्रौला, अभिनेता दयाहाङ राईलगायत सहभागी हुनुभएको थियो । सभालाई सम्बोधन गर्दै उहाँहरुले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको पोखरीको अस्तित्व नाश हुने गरी विकास निर्माण नगर्न आह्वान गर्नुभयो ।

प्रदर्शनमा सहभागीले ‘प्रकृतिको दोहन बन्द गर’, ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’, ‘रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ’, ‘जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ, यसलाई बचाऔँ’, ‘प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर’ लगायत नारा लेखिएका ‘प्ले कार्ड’ बोकेका थिए ।

यसअघि कमलपोखरी बचाउ अभियानले पनि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । पत्रमा कमलपोखरी (पलेस्वाँपुखू) मा संरक्षण र सम्वद्र्धनका नाममा गैरकानूनी एवं संरक्षणको मान्य सिद्धान्त तथा व्यवहार प्रतिकूल हुने गरी काम भएकाले रोक्न माग गरिएको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानूनको प्रतिकूल हुने गरी कमलपोखरीमा काम भइरहेको छ । पुरातत्व विभागले पनि प्राचीन स्मारक संरक्षण ऐन विपरीत काम नगर्न महानगरपालिकालाई माघ ५ गते पत्राचार गरेको जनाएको छ ।

पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेत ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको दाबी गर्नुहुन्छ ।

लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययन विना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले विरोध जनाएका छन् । गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बुढापाकाको मुखबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ ।

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासी माझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ पनि यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिक रुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाइ पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाउ अभियानका सुसन वैद्य बताउनुहुन्छ । कमलपोखरीको मौलिक पहिचान, पुरातात्विक र ऐतिहासिक महत्व मासेर पुनर्निर्माण भएको भन्ने निवेदन विभागमा परेकाले पोखरीको संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी काम गर्नुपर्ने उहाँको भनाइ छ ।

काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?

सम्पदा बचाउ अभियान, स्थानीयवासी र स्रष्टा, साहित्यकारबाट विरोध भएपछि हाल कमलपोखरी निर्माणको काम रोकिएको छ । पहिलेकै स्वरुपमा कमलपोखरी निर्माण गरिनुपर्ने ऐतिहासिक पोखरीको संरक्षणमा लागेका अभियानकर्मीको माग छ ।

पोखरी सौन्दर्यीकरण सम्बन्धी महानगरको योजना

काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणका लागि रु नौ करोड ४७ लाख बजेट छुट्याएको छ । करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीवरिपरि आकर्षक संरचनासहित पोखरी पुनर्निर्माण गरिने महानगरपालिकाले गुरुयोजना बनाएको थियो ।

गुरुयोजनाअनुसार, पोखरी छिर्ने मौलिक स्वरूपमा द्वार, पोखरीको छेउछेउका चैत्य, पाँचवटा मकरधारा, पोखरीको बीचमा कमलको स्वरूपमा फाउन्टेन, चारै कुनामा घाट र छठ पूजाका लागि संरचना, पूर्वी कुनामा सानो भ्यूटावर बनाउन लागिएको हो । योसँगै कमलपोखरी वरिपरि रहेका अनधिकृत संरचना हटाएर बाल उद्यान (चिल्ड्रेन पार्क, ढुङ्गेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यानसमेत बनाउन लागेको बताइएको छ ।

कमलपोखरी पुनर्निर्माणको जिम्मा शुरुवातमा उपत्यका विकास प्राधिकरणले लिएको थियो । गुरुयोजना बनाएर पुनर्निर्माण थालेको प्राधिकरणले बजेटको अभावमा निर्माण अधुरै छाडेपछि सो को जिम्मा काठमाडौं महानगरपालिकाले लिएको थियो । हाल कंक्रिट राखेर बनाइन लागेको भन्दै विवादमा आएको घाट पनि उपत्यका विकास प्राधिकरणले नै निर्माण शुरु गरेको थियो ।

यही योजनाअनुसार महानगरपालिकाले निर्माणलाई निरन्तरता दिएको महानगरपालिकाका सम्पदा तथा पर्यटन विभागले जनाएको छ । विभागका अनुसार घाटमा छठका लागि काठ राखेर मण्डप राख्ने योजनाअनुसार नै काम भइरहेको छ । असार मसान्तमै सकाउनुपर्ने काम लकडाउनका कारण सामान आपूर्ति गर्न नसक्दा ढिलाइ भएकाले महानगरपालिकाले ठेकेदार कम्पनीलाई छिटो काम सकाउन निर्देशन दिएको र सोही अनुरुप राति–राति पनि काम भइरहेको छ ।

लिच्छवीकालीन कमलपोखरीमा ‘सिमेन्ट र कङ्क्रिटको कमल’ !

सम्बन्धित खबर

Back to top button