कोरोनाको कहरमा लोसार
कोरोना भाइरस कतिको खतरनाक छ भनेर आजको समयमा बताइरहनु पर्ने आवश्यकता छैन । विश्व महामारीको रुप लिएको यो भाइरस एक प्राणघातक रोग हो भन्ने कुरा पनि सर्वविदितै छ । सन् २०१९ पछि हामी सबैको जिन्दगीसँग यो भाइरस प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ ।

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरे पश्चात यसबाट बच्नका लागि तोकेको मापदण्ड र नियमावली पनि विश्वभरी लागू भैसकेको छ । जसलाई हामी दैनिक रूपमा पालना पनी गर्दैछौ । र यस महामारी नियन्त्रण गर्ने हेतुले हामीले विभिन्न चरणमा लगभग वर्ष दिन जतिको लकडाउन पनि भोगिसकेका छौं ।
साथै कोरोनाका निमित्त खोप अभियान नया नया नियम दिशानिर्देश र प्रतिबन्धात्मक आदेशहरु पनि हरेक देशले आफ्नो अवस्था अनुसार लागु गरिरहेका नै छन । फलस्वरूप गत वर्ष अर्थात २०२१ को अन्ततिर संक्रमण दर केही घटेको थियो ।
तर दुर्भाग्यवश नयाँ साल सँगै फेरि नयाँ भेरियन्ट अर्थात ओमीक्रोनको रुप धारण गरेर सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढीरहेको छ र यसै महामारीको दौरानमा हाम्रो वार्षिक चाड अर्थात लोसार (नयाँ वर्ष) फेरि हाम्रो घरआँगन नजिक आइपुगेको छ ।
हरेक वर्षझैँ यसपटक पनि हामी हिमाली आदिवासी जनजाति समुदाय एवं सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूको महान चाड लोसार नजिकिँदैछ । कोरोना भाइरसका बावजुद पनि ल्होसार मनाउन सबै उत्साहित छन । तर दुर्भाग्यवस पछिल्लो समय फैलिएको नयाँ ओमीक्रोन भेरियन्टले गरिरहेको विश्वव्यापी असर लोसारमा पनि पर्ने लगभग पक्का छ ।
लोसारमा हुने विभिन्न खाले भिडभाड कोरोना सार्ने माध्यम बन्ने सम्भावना उतिकै बढेको छ । शायद त्यसैको डरले होला पूर्वनिर्धारित कार्यक्रमहरू धमाधम रद्द भएको समाचारहरु पनि दैनिक आइरहेका छन । त्यसैले यसपाली पनि लोसार अनावश्यक भिड्भाड नगरी घरमै सीमित भएर परिवारको सदस्यहरूसंग सानो संख्यामा मनाउदा उपयुक्त हुने देखिन्छ ।
विगतको जस्तो लोसार पर्वको अवसरमा ठूलाठूला कार्यक्रम, महोत्सव र मेलाहरू आयोजना गरेर भव्य रुपमा मनाउने सपना यसपालि सपनामै सीमित गर्दा सबैको भलो हुने देखिएको छ।
स्वाभाविक रुपमा यसपाली भिडबाट गर्नु सबैको लागि हितकर देखिदैन । यद्यपि यस प्रतिकुल समयमा पनि घरपरिवार तथा आफन्तको सुरक्षाको निम्ति सचेत भएर आवश्यक मापदण्ड पूरा गरी लोसार मज्जाले मनाउन सकिन्छ ।
सदाझै यसपटक पनि चन्द्रमास पात्रोअनुसार १२ महिनाको २९औं दिन घरमा गुथुक खाने अनि त्यसको भोलिपल्ट औंसीको साँझमा चमार, दतर, खप्से, आरक र अन्य सामग्री क्षोश्युम अगाडि सजाउने, त्यसै गरी पिठोले टाशीतके र टशीदेले लेखेर घरको भित्ता सजाउने, टावा थंगपी छेचिकको दिन बिहान सबेरै उठेर नुहाइधुवाइ गरी नयाँ लुगा लगाउने धाराबाट सफा पानी ल्याएर घ्युको कर्केन लगाई क्षोश्युममा चढाउने आदि गरौं ।
त्यसपछि सांग सेर्किम गरेर छ्यांकोल खाई परिवारभित्रै एकआपसमा खादा लगाइ शुभकामना आदानप्रदान गरौ र त्यसको भोलिपल्ट मात्र भेट्नै पर्ने आफन्तहरुसँग भेट गर्ने गरौं । भेटने क्रममा खादा लगाउँदा वा चढाउँदा सेनिटाइजर प्रयोग गरी सकेसम्म भौतिक दुरी कायम गरी टावा र लामाहरुलाई घरमा बोलाउँदा बस्ने स्थानको व्यवस्था पनि आवश्यक दूरी कायम गरेर गरौं । अन्य साथीहरुसंग टेलिफोन, जुम, भाइबर र अन्य समाजिक संजालहरूको माध्यमबाट शुभकामना आदानप्रदान गरौ । अत्यधिक रूपमा माछा मासु र अन्य खान्की सेवन नगरौं । मदिरापान पनि न्युन गर्दा बेस ।
लोसारमा सबै आफन्त जम्मा भई पूजापाठ र खानपिन गर्ने चलन भए तापनि यो वर्ष कोरना भाइरसको त्रास भएकोले नजिकै बसेर खाने क्रममा खोक्दा हाच्छिउँ गर्दा बोल्दा र सास फेर्दा निस्कने छिटाबाट भाइरस सजिलै सर्ने भएकोले अनिवार्य मास्क प्रयोग गरौ ।
अन्तमा, महामारीको यस प्रकोपबाट बच्न र बचाउन विशेष ख्याल राखी लोसार मनाउनु पर्ने देखिन्छ । मानिसहरू धेरै जम्मा भएको स्थानमा संक्रमणको दर वृद्धि भएको तथ्य हामीले अनदेखा गर्न मिल्दैन र चाडबाडको बेला हामी बलियो छौ भनेर कोरोना भाइरसलाई कमजोर ठान्ने गल्ती कसैले नगरौं । यो अत्यन्त ठुलो महामारी हो भन्ने कुरालाई कदापी नबिर्सौ ।
लोसारको बीचमा वा अन्त्यतिर संक्रमित भएर अस्पतालको बेड र भेन्टिलेटरको निम्ति भौतारिनु भन्दा बेलैमा सुरक्षित भएको राम्रो । तसर्थ मैले जानेको छु भनेर बस्ने मात्र नभई जानेको कुरा पूर्णरुपमा व्यवहारमा लागू गर्न अत्यन्त जरुरी छ । लोसार हरेक वर्ष आउँछ नमरी बाँचे विगतमा झै धूमधामका साथ फेरी मनाउन पनि सकिन्छ ।
तर यसपल्ट भने संक्रमित भएर मृत्युवरण गरेका छट्पटिदै उपचार नपाएर बिचल्ली भएकाहरूलाई स्मरण गर्दै भिडभाडरहित आवश्यक मापदण्ड पूरा गरेर मात्र घरमै लोसार मनाऔं । थुची छे ।
(लेखक शेर्पा नेपाली समाज जापानका अध्यक्ष एवं पूर्व कोरोना संक्रमित हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्