वाग्मती र लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ ।

बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ ।
तिमल्सिना र पौडेल क्रमशः ४६३ र ४५० मतभारले विजयी हुनुभएको हो । महिला सदस्यमा तिमल्सिनाले चार हजार ८२४ मतभार प्राप्त गर्नुभएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०बाट उम्मेदवार बन्नुभएकी उम्मेदवार निरुकुमारी कुँवरले चार हजार ३६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गर्नुभयो ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले चार हजार ७९४ मतभार प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाको तर्फबाट उम्मेदवार बन्नुभएका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागी हुनुभएको थियो । विवेकशील दलको तीन जना प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुनुभएको थिएन । निर्वाचनमा बागमती प्रदेशका १०९ सदस्य र ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनुभएको थियो ।
यसै गरी लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो ।
प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याउनुभएको छ, महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३१२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३४८ मत ल्याउनुभएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकामा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् ।
स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्