अर्थकृषि

गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

धन कमाउन, सुविधाको जीवन बिताउन भन्दै मानिसहरु गाउँघरका खेतबारी छाडेर शहर पस्ने प्रवृत्तिले गाउँहरु रित्तो हुनेक्रम जारी नै रहे पनि गाउँमै मेहेनत गरे गाउँको उत्पादले शहरमा घडेरी किन्ने वातावरण बन्छ भन्ने दृष्टान्त पर्वतका किसानले दिएका छन् ।

किनभने यस वर्ष पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् ।

व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा रु पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त गाउँमा गत वर्ष रु तीन करोड भित्रिएको थियो ।

“बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे । माग पूरा गर्नै सकिएको छैन । ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ । ”

बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् । न्यूनतम रु पाँच लाखभन्दा थोरै कमाउने कुनै घरै छैनन्,” अध्यक्ष खत्रीले भन्नुभयो, “बढीमा रु १९ लाखसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन् । ”

उहाँले यस वर्ष झन्डै रु १३ लाख आम्दानी गरेको सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्ता बिक्री गर्नुभएको छ । उहाँले यस वर्ष झन्डै रु १६ लाख आम्दानी हुने बताउनुभयो । सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उहाँका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा बिक्री गर्न सहज भएको स्थानीयवासी कल्पना खत्रीले बताउनुभयो । तर अधिकांश सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उहाँको भनाइ छ ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

यहाँका अधिकांश कृषक अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन् । यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो । अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ । सिङ्गो गाउँ नै पहेँलपुर बनेको छ । माघ पहिलो सातादेखि यहाँका सुन्तला बजार जान थालेका हुन् । अधिकांश सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगँैचामा पनि व्यवसायीहरू आफैँ गएर टिप्न थालेको स्थानीयवासी यामबहादुर गर्बुजाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.