कर्पोरेट/पर्यटन

सरोकारवालाको वेवास्ताले १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक (भिडियोसहित)

काठमाडौं उपत्यकाको अधिकांश भाग देखिने गोकर्णेश्वर नगरपालिकास्थित यज्ञडोल सामुदायिक वनको ६ सय ५० रोपनी जग्गामा तेह्र वर्ष अघिदेखि निर्माण शुरु भएको शहीद स्मारक सरोकार भएका निकायको प्राथमिकतामा नपर्दा अझै पूरा हुनसकेको छैन ।

लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि शहीद दिवस कार्यक्रमको तयारी भइरहेको जनाइएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा विसं २०७४ मा मन्त्रालय खारेजी भएको थियो । हाल यो आयोजनाको काम शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागबाट शुरु भएको छ । विसं २०६८ मा काम शुरु भई २०७२ मै सक्ने लक्ष्य राखिएकामा भूकम्प, नाकाबन्दी र निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र बनेको उद्यान निर्माण समितिका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।

उद्यानको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत भएर काम अलपत्र हुँदा दुःख लागेको उहाँले बताउनुभयो । विभागका आयोजना प्रमुख मचाकाजी महर्जनले विसं २०७७ जेठ २६ गते सक्ने गरी सातैवटा निर्माण व्यवसायीसँग सम्झौता भएको बताए पनि कोरोना महामारीका कारण काम नसकिएको बताउनुभयो ।

हेर्नुहोस् यो भिडियो

पार्कमा शहीद सङ्ग्रहालय, शहीदसम्बन्धी अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र रहेको स्मारक निर्माण समितिले जनाएको छ ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्यो समेत सञ्चालनमा आउन सकेको छैन । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ ।

विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ । शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैले घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ ।

सम्बन्धित खबर

Back to top button