जापानले मे ८ मा कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जामा वर्गिकरण गर्ने
जापानले मे ८ मा कोभिड–१९ को स्तर घटाएर मौसमी ज्वरो जस्ता संक्रामक रोगको श्रेणीमा वर्गिकरण गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री किशिदा फुमियोले कोभिड–१९ को स्तर घटाएर मौसमी ज्वरो जस्ता संक्रामक रोगको श्रेणीमा वर्गिकरण गर्ने निर्णय गर्नुभएको हो ।

शुक्रबार स्वास्थ्यमन्त्री कातो कात्सुनोबु र मन्त्रिपरिषद्का अन्य सदस्यहरूबीच सरकारी कार्यदलको बैठकमा उक्त निर्णय भएको हो ।
स्वास्थ्य मन्त्रालयको विज्ञ समितिबाट प्राप्त सुझावका आधारमा मन्त्रिपरिषद्ले विशेष परिस्थिति नआए मे ८ मा रोगको श्रेणी परिवर्तन गर्ने निर्णय गरेको किशिदाले बताउनु भयो ।
उनले कोभिड–१९ को वर्गिकरण श्रेणी २ बाट परिमार्जन गर्नुअघि सरकारले विज्ञहरुको राय लिने पनि बताउनुभयो । श्रेणी २ मा दोस्रो सबैभन्दा संक्रामक रोगहरू वर्गीकृत छन् भने मौसमी ज्वरोलाई सबैभन्दा कम पाँचौं श्रेणीमा वर्गीकृत गरिएको छ।
त्यस्तै सरकारले कोभिड–१९ का बिरामीलाई सामान्य अस्पतालमा पनि उपचार गर्न सकिने गरी चिकित्सा प्रणालीको समिक्षा गर्ने योजना बनाएको छ । यस्तै सरकारले सीमित अवधिका लागि बिरामीको उपचार खर्च व्यहोर्ने भएको छ । यसको उद्देश्य चिकित्सा शुल्कमा तीव्र उछाल रोक्नु हो । सरकारले मार्चको शुरुमा विस्तृत जानकारी जारी गर्ने योजना बनाएको छ ।
हाल, कोभिड १९ का बिरामीहरू तोकिएका अस्पतालहरूमा मात्र भर्ना भएका छन् । तर सरकारले संक्रमणको स्थितिलाई मौसमी इन्फ्लुएन्जा श्रेणीमा परिवर्तन गरेमा सामान्य अस्पतालमा पनि संक्रमित बिरामी भर्ना हुन सक्छन् ।
सरकारले जस्तो तयारी गरे पनि कोरोनाको महामारी अहिले नै अन्त्य हुने सम्भावना छैन । जापानमा पछिल्लो समय दैनिक संक्रमित र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । जापानमा कोरोना भाइरस संक्रमणको आठौं लहर फैलिने चिन्ता व्यक्त भैरहेको छ भने आठौं लहर सातौं लहरको तुलनामा फैलने दर बढी रहेको विज्ञहरुले बताइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्