नेपालमा इसाई धर्म प्रसारमा दक्षिण कोरियाली भूमिका
नेपालीहरुलाई आकर्षक रोजगारी दिएर आर्थिक रुपमा टेवा दिएको दक्षिण कोरियाले नेपालमा धर्म परिवर्तनमा पनि ठूलै योगदान दिएको छ । नेपालमा इसाई धर्म प्रचारमा कोरियाको ठूलो हात रहेको छ ।

बिबिसिले केही साताअघि सार्वजनिक गरेको समाचार विवरणमा नेपालमा इसाई धर्म प्रचार गर्न दक्षिण कोरियाली धर्म प्रचारकहरु गाउँगाउँमा चर्च स्थापना गर्दै गएका छन् ।
हुन त जबरजस्ती धर्म परिवर्तन गर्न लगाउनु गैर कानुनी काम हो, तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्न तयार रहेका छन् । नेपाल विश्वमै इसाई धर्म फैलदै गएको प्रमुख देशका रुपमा स्थापित भएको छ ।
पछिल्लो समय दक्षिण कोरियाका धर्म गुरुहरु नेपालका गाउँगाउँ पुगेर धर्म पचार गरिरहेका छन् । नेपालमा बढी मात्रामा आदिवासी जनजाति समुदायमा धर्म परिवर्तन भैरहेको छ ।
दक्षिण कोरियाली प्रचारकहरूले बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मद्दत गरेका छन् ।
नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्।
इसाई धर्म प्रचारकको रूपमा नेपालमा बिताएको दुई दशक लामो समयमा कोरियाली पास्टर पाङ्ग चाङ्ग(इन्ले आफ्नो रेखदेखमा झन्डै ७० वटा चर्चहरू स्थापना गरेका छन् । त्यसरी बनेका धेरैजसो चर्चहरू राजधानी काठमाण्डौबाट दुई घण्टाजति टाढा उत्तर पश्चिममा अवस्थित धादिङ जिल्लामा रहेका छन्।
उनका अनुसार जग्गा त्यहाँको समुदायले दिन्छ भने कोरियाली चर्चहरूले निर्माण कार्यका लागि पैसा दिएर मद्दत गर्छन्। झन्डै सबैजसो पहाडी उपत्यकाहरूमा चर्चहरू बनिरहेका छन्।ू
इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा ७,७५८ चर्चहरू रहेको देखाएको छ । र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको हात रहेको छ।
केही दशकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक बन्न पुगेको छ।
कोरियाली वर्ल्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन्।
नेपाल अहिले धर्म निरपेक्ष राज्य हो, र सन् २०१५ (विसं. २०७२) मा बनेको संविधानले धार्मिक स्वतन्त्रताको प्रत्याभूति दिएको छ। यद्यपि सन् २०१८ मा लागु गरिएको धर्म परिवर्तन गराउने विरुद्धको कानुनले कसैलाई उसको धार्मिक आस्था परिवर्तन गर्न प्रोत्साहन गरेको अभियोगमा दोषी ठहर हुनेलाई पाँच वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ ।
हाल उक्त कानुन अन्तर्गत मुद्दा लागेकाहरू इसाईहरूमात्रै छन् तर अहिलेसम्म कोही पनि दोषी ठहर भएका छैनन् । त्यस्ता मुद्दाहरू या त प्रमाणको अभावका कारण फिर्ता भएका छन् वा पुनरावेदनमा जाँदा अभियुक्तहरूले सफाइ पाएका छन् ।
नेपाल इसाई समाजका अनुसार अहिले त्यस्ता प्रकार ५ वटा मुद्दाहरू अदालतमा विचाराधीन छन् । दुई महिलासहित चार कोरियाली विरुद्धको मुद्दा गत डिसेम्बरमा फिर्ता भएको थियो ।
तर दक्षिण कोरियाली धर्म प्रचारकहरुले यसलाई चुनौति नै दिइरहेका छन् । धर्म परिवर्तन गरेर आफूले पुनर्जन्म प्राप्त गरेको भन्ने कोरियाली धर्म प्रचारक, मिसनरीहरू धर्म परिवर्तनका निम्ति निकै गाह्रो ठानिँदै आएका संसारका विभिन्न स्थानहरूमा समेत आक्रामक रूपमा प्रवेश गर्नेहरू भनी परिचित हुन थालेका छन् जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ।
नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याङ्कले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ। सोही तथ्याङ्कका अनुसार नेपालमा हिन्दू करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन्।
सन् १९५१ को तथ्याङ्कमा नेपालमा इसाई धर्मावलम्बी एकजना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो। तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ।
प्रतिक्रिया राख्नुहोस्