अर्थ

कृषकले लाभ लिन नपाएको मोरङ-सुनसरी सिँचाइको औचित्य गुम्दै

सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट किसानले लाभ लिन पाएका छैनन् । पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन नपाएका हुन् ।

आयोजनाबाट सुनसरी र मोरङमा करीब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका लाखौँ कृषक लाभान्वित भएका छन् । भारत सरकारको सहयोगमा बनेको यो चतरा मूल नहरसँग जोडिएका अन्य शाखा नहर सन् १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।

निर्माण भएको लामोसमय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र कुनैबेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट बञ्चित हुने अवस्थालाई हटाउन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किलोमिटर पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टी शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषकले नहरको पानी खेतमा देख्न पाएका छैनन् । उनीहरु वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भरपर्नु परेको स्थानीय कृषक विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष वर्षात्को मौसममा राम्रै पानी परेकाले त्यति समस्या नभए पनि हिउँदमा लगाउने दलहन, तेलहन र गहुँबालीका लागि समस्या भएको जानकारी दिनुभयो । लोहन्द्रा खोलादेखि पूर्वतर्फ नहरदेखि दक्षिण क्षेत्रमा ती छ वटा शाखा नहरबाट करीब १० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो । उहाँले कृषकहरुले भोग्नुपरेको समस्यालाई निराकरण गर्न अहिले भत्किएको ठाउँमा नयाँ संरचना बनिरहेको जानकारी दिनुभयो ।

लोहन्द्रा खोलामा नयाँ बनिरहेको नहरको संरचना र खोलाको पुल मूल्य अभिवृद्धि करसहित रु २९ करोड ९७ लाख ५६ हजार ७७१ मा निर्माण गर्न स्वामी नारायण आशिर्वाद जेभीले २०७६ साल फागुन ३० मा निर्माणको सम्झौता गरी विसं २०८० भदौ ३० गते निर्माण सम्पन्न गर्ने गरी ठेक्कामा लिएको छ ।

नहरको पानी बग्न बनाइने साइफनको लम्बाइ २२७ मिटर, चौडाइ साढे दुई मिटर र गहिराइ भित्री भागमात्र दुई मिटर छ भने पुलको लम्बाइ १५५ मिटर र चौडाइ १० दशमलव ८५ मिटर रहेको छ । नहरको काम सम्पन्न भएपछि त्यस क्षेत्रका कृषक लाभान्वित हुने र पुलको काम सम्पन्न भएपछि पूर्वतर्फका कसेनी, बाहुणी, होक्लाबारी, पथरी, उर्लाबारी झापासमेतका तथा पश्चिततर्फ नेता चोक, विराटनगर, बूढीगङ्गा, दुहबी, कोहलपुर, खनार र सुनसरीका लाखौँ नागरिकलाई आवतजावतमा सुविधा पुग्ने बताइएको छ ।

साइफनमा प्रतिसेकेण्ड आठ घनमिटर पानी बहाव हुने क्षमता छ । साइफनको काम चालू आर्थिक वर्षमा गरिने काममा ९५ प्रतिशत सम्पन्न भए पनि नहरमा पानी सञ्चालन गर्न र वर्षात्को समयमा लोहन्द्रा खोलामा आउने बाढीबाट संरचनालाई जोगाउन तत्काल रु आठ करोड आवश्यक रहेको आयोजना प्रमुख यादवले बताउनुभयो । उहाँले यो बजेटको अभावमा संरचनाको काममा बाधा उत्पन्न हुने र निर्माण कम्पनी पनि हच्किने सम्भावना रहेकाले विभागले तत्काल आवश्यकताबमोजिमको बजेट निकासा हुनुपर्ने माग गर्नुभयो ।

साइफन सुरुङ्ग मार्ग जस्तो आरसिसी मोडलमा छन् र यसको आयु ५० वर्षको हुने आयोजना प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले भविष्यमा यस्तै समस्या बूढी खोलामा पनि उत्पन्न हुने सम्भावना देखिएकाले सो खोलाबाट छिचोल्दै पूर्वतर्फ आएको मूल नहरलाई जोगाउन रु दुई करोड बजेट आवश्यक छ भन्नुभयो । उहाँले यसका लागि विभागका प्रमुखलाई पनि समस्या बताइसकेको छु तर पनि बजेटको बन्दोबस्त हुन सकेको छैन, आउने वर्षात्मा नहरलाई जोगाउन निकै चुनौती छ भन्नुभयो ।

प्रमुख यादवले यस वर्ष किसानको खेतमा पानी पु¥याउन र बूढी खोलाको संरचना बचाउमा गर्नुपर्ने आवश्यक कामका लागि सरकारले रु १० करोड बजेट तुरुन्तै व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सप्तकोशी नदीको पानीलाई सुनसरीको चतरास्थित नहरमा पानी खसाली बनाइएको चतरा मूल नहरको लम्बाइ ५३ किमी छ । यसबाट सुनसरीमा सुन्दरगुन्दर शाखासहित, सुकसेना, रामधुनी, मनिक चौधरी, सिँगिया, शङ्करपुर, एसएस जे झुम्का, विश्वाम्पुर, सीतागञ्ज र दुहबी शाखा छन् भने मोरङमा छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टी, आम झोडा, रञ्जनी, चिस्याङ शाखा र झमनपुर शाखा छन् । मोरङको छ वटा शाखामा अहिले पानी जान छोडेको छ । मूल नहर प्रतिसेकेण्ड ६० घनमिटर पानी बहाव हुने क्षमताको भए पनि अहिले नहरमा थुप्रिएको बालुवा, दलकच्चु आदिले गर्दा पानी बहावमा समस्या देखिएको छ ।

लामो समयदेखि नहर सफा गर्ने काम नभएकाले क्षमताअनुसारको पानी बहाव गराउन मूल नहरदेखि शाखा नहरलाई पनि सफा गर्नुपर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाका इञ्जिनीयर प्रेमचन्द्र झाले बताउनुभयो । सप्तकोशीबाट बगेर आउने बालुवा नहरमा वर्षेनी थुप्रिने समस्यालाई निराकरण गर्न मुहानमा बालुवा छान्ने मेशिन पनि जडान गर्नुपर्ने आवश्यकता देखिएको इञ्जिनीयर झाले जानकारी दिनुभयो ।

उहाँले मुहानमा बालुवा छान्ने दुई वटा मेशिन रहे पनि एउटा मात्र सञ्चालन रहेकाले नहरमा बालुवाको समस्यासँगै कृषकको खेतमा पनि पानीसँगै बालुवा जाने भएकाले यसतर्फ विभागले विशेष ध्यान दिनुपर्ने जनाउनुभयो । उहाँले चतरा मूलनहरबाट मोरङभन्दा सुनसरीमा बढी सिँचाइ भइरहेको र मोरङमा कम छ भएको जानकारी पनि दिनुभयो ।

लोहन्द्रा खोलामा बनिरहेको पुलका विषयमा निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोष बस्नेतले तोकिएकै अवधिमा पुल निर्माण कार्य सम्पन्न गर्ने र आफूहरुले बनाएको यो पुलले ७० मेट्रिकटन भार थेग्न सक्ने दाबी गर्नुभयो । उहाँले पुलले सोचेअनुसारको भार थेग्न सक्छ कि सक्दैन भनेर एटिटी इञ्जिनीयर सर्भिस प्रालीबाट प्राविधिक मगाएको जानकारी दिनुभयो । प्राविधिक महेश ठाकुरका अनुसार पुलको गुणस्तर एवं बनावटमा कुनै पनि समस्या नदेखिएकाले सोचेअनुसारको भार थेग्नसक्ने जानकारी दिनुभयो ।

निर्माणस्थलमा कार्यरत सुनसरी मोरङ सिँचाइ आयोजनाका इञ्जिनीयर नित्यानन्द झाका अनुसार निर्माणको काममा कुनै पनि कमी कमजोरी हुन नदिन चौबीसै घण्टा आयोजनाबाट निरीक्षण एवं निगरानी भइरहेको छ भन्नुभयो ।

शुरुमा सुनसरी र मोरङमा कूल ४५ हजार हेक्टर जमीनमा मात्र सिँचाइ हुने गरेको यो आयोजनाको नहरलाई विसं २०४५ मा चीन सरकारले ३९ मिलियन डलरमा ठेक्का लिइ नहर विस्तारको काम गरेको थियो । जसको फलस्वरुप अहिले दुवै जिल्ला ६० हजार हेक्टरभन्दा बढी जमीनमा सिँचाइ सुविधा पुगेको छ ।

सप्तकोशीको पानीलाई उचित व्यवस्थापन गर्न सकियो भने सप्तकोशी नदीको पानीलाई पूर्वमा झापासम्म पश्चिममा सिरहासम्म पानी पु¥याउन सकिने सीतागञ्ज शाखा नहर जल उपभोक्ता समितिका अध्यक्ष तपन दासले बताउनुभयो । उहाँले १५ वर्षअघि आयोजना प्रमुखका रुपमा काम गर्नुभएको अनिल पोखरेल पछि र अहिलेका आयोजना प्रमुख भिलानन्द यादवअघिका आयोजना प्रमुखहरुले नहरको क्षमता विकास र संरचना निर्माणका साथै किसानको खेतसम्म पानी पु¥याउने योजनाहरुलाई ध्यान नदिएका कारण नहरको दुरावस्था हुन पुगेको प्रतिक्रिया दिनुभयो । विगतका आयोजना प्रमुखहरुले नहरको विकास र सुदृढीकरण भन्दा पनि आफ्नै विकासमा केन्द्रित रहनुले नै यति महत्वपूर्ण आयोजना अहिले लथालिङ्ग भएको अध्यक्ष दासको गुनासो छ ।

अध्यक्ष दासले सिँचाइ तथा जलश्रोत मन्त्री एनपी साउदको समयमा आयोजनाको ५३ किमी लामो नहरको डिलहरुलाई अतिक्रमण गरेर घर बनाएका लगभग चार हजार संरचनाहरुलाइ बल प्रयोग गरी हटाउनु भएको थियो । अहिले फेरि उही क्रम जारी रहेको देखिएको छ । अहिले पनि नहरका डिल तथा नहरको सीमाभित्र रहेका जग्गाहरु पुनः नागरिकबाट अतिक्रमण शुरु भएको देखिएको छ भने यसलाई तत्काल हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आवश्यकता देखिएको अध्यक्ष दासको भनाई छ । उहाँले भन्नुभयो, “अहिलेका आयोजना प्रमुख स्थानीयवासी भएकोले पनि नहरको सुधार हुनेमा आशावादी छु ।”

उहाँले भन्नुभयो, “हामीले अहिलेसम्ममा प्रतिसेकेण्ड ६० घनमिटर पानी मात्र प्रयोग गरिहेका छौँ जबकी सप्तकोशीबाट प्रतिसेकेण्ड हजारौँ घनमिटर पानी भारततर्फ बगिरहेको छ । यो पानीलाई हामीले कहिले सदुपयोग गर्ने ? जतिसक्दो नेपाल सरकारले स्वदेशी पानीलाई स्वदेशमै खपत गर्ने योजना ल्याउनुपर्यो, यो मेरो सुझाव हो ।”

सप्तकोशीमा वर्षात्का समयमा चार लाखदेखि पाँच लाख घनमिटर पानी प्रतिसेकेण्ड बहाव भइरहेको हुन्छ भने हिउँदको सममाय कम्तीमा १३ देखि १४ हजार घनमिटर पानी प्रतिसेकेण्ड भारततर्फ बगिरहेको कोशी ब्यारेज प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक तारा चुँडालले जानकारी दिनुभयो ।

खाद्यान्नका लागि उत्पादनशील जिल्लाका रुपमा रहेको सुनसरी, मोरङ र झापा गरी कुल दुई लाख २५ हजार ८०० हेक्टर जमीन खेतीयोग्य छ । साठी घनमिटर प्रतिसेकेण्ड पानी आउने चतरा मूल नहरबाट सुनसरी मोरङमा ६० हजार हेक्टर जग्गामा सिँचाइ पुगेको छ भने १४ हजार घनमिटर प्रतिसेकेण्ड सप्तकोशी नदीमा बग्ने पानीलाई सदुपयोग गर्न सकियो भने कति क्षेत्रफलमा सिँचाइ पु¥याउन सकिन्छ सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित खबर

Back to top button