बिचार

सामान्य जनता संवैधानिक अधिकारबाट वञ्चित हुँदा किन सडक तातेन ?

यादब देवकोटा

अहिले सरकारले संसद विघटन गरेपछि असंवैधानिक भयो भन्दै राजनीतिक दलहरु सडकमा छन्, सर्वोच्च अदालतमा मुद्दा परेको छ र संवैधानिक इजलाशमा बहस चलिरहेको छ । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएकाले संसद विघटन असंवैधानिक रहेको भन्दै कुर्लनेहरुको संख्या निकै छ ।

संविधानले तोकेकोभन्दा दायाँ–बायाँ कसैले कुनै काम गर्न पाउँदैन र संविधानले ‘गर’ भनेको काम गर्नैपर्छ । अहिले सत्ता र शक्तिमा संविधान मिचियो । तर संविधानले गर्नुपर्ने आदेश दिएको काम चाहिं के के भयो ? संविधान अनुसार जनताले पाउनुपर्ने आधारभूत कुरा नपाएकोमा किन कोही सडकमा उत्रेनन् ?

प्रधानमन्त्रीले संसद विघटन गरेर असंवैधानिक काम गरे वा गरेनन् त्यो संवैधानिक इजलाशशले ठहर गर्ने विषय हो । तर राजनीतिक रुपमा उहाँले गलत काम गर्नुभएकै हो । ५ वर्षका लागि जनताले नेकपाको सरकार बनाउन मत दिएका थिए र त्यो मतको दुरुपयोग भयो । यसमा छिद्र खोज्ने काम यहाँ नगरौं, नेकपाको आन्तरिक किचलोले देशमा संकट निम्तियो ।

देशमा जतिपछि समस्या उत्पन्न भएका छन्, तिनका कारण दलका नेताहरु नै हुन् । न दलका सामान्य कार्यकर्ता यसमा दोषभागी छन्, न त जनता नै । केवल टाउके नेताहरुको स्वार्थका कारण मुलुक पटकपटक संकटमा फस्दैआएको छ । सत्ताको निकट रहेका, सत्तानियन्ता बन्ने सपना देखेका र सम्भावना बोकेका नेताहरु जहिल्यै आफ्नो स्वार्थकै लागि मात्र लडिरहने हुँदा देशले जतिसुकै व्यवस्थामा परिवर्तन आए पनि उपलब्धि शून्य कै नियति भोगिरहेको छ ।

राजनेताको जिम्मेवारी निर्वाह भनेको चलचित्र वा नाटकको अभिनेताको जस्तो कृत्रिम र क्षणिक हुँदैन । राजनेताको जिम्मेवारी युगयुगान्तरसम्म समाज विकासको मार्गनिर्देशन गर्ने हुनुपर्छ । तर नेपालमा राजनेताभन्दा बरु अभिनेताले आफ्नो जिम्मेवारी निर्वाहमा इमान्दारीता र कुशलता प्रदर्शन गर्न निकै मेहेनत गर्दछन् । तर राजनेता भने सजिलै सत्ता प्राप्तिको दाउपेच मात्र खोजिरहन्छन् ।

मानवमा हुनुपर्ने गुण भनेको जुन काम, जिम्मेवारी वा दायित्व ग्रहण गरिएको छ पहिला त्यसलाई महसुस गर्न सकियो भने मात्रै सफलता पाउनुका साथै त्यसको प्रभाव सबैतिर छरिन्छ, एउटा अनुकरणीय पात्रका रुपमा ऊ स्थापित हुन्छ । एउटा कुशल अभिनेता, आफूले निर्वाह गर्ने पात्रको भूमिका जीवन्त बनाउन त्यस्तो पात्रको खोजी गर्दै उसको सुख, दुःख, पीडा महसुस गर्न आफूलाई लामो समयसम्म त्यसमा अभ्यस्त गराउँछ र अन्ततः उसले आफ्नो भूमिकालाई सफल बनाउछ ।

नेपालका राजनेताहरु आफ्नो भूमिका सशक्त रुपमा निर्वाह गर्न र सफल हुन गर्नुपर्ने कुनै मेहेनत गर्दैनन्, अरुको कमजोरी केलाएर आफूलाई सही सावित गर्ने अनि अरुलाई दोष दिएर, अरुले काम गरेन भनेर आफू त्यो गर्नसक्ने दावी त गर्छन् तर पदमा पुगेपछि उनीहरुको अवस्था पनि विगतको भन्दा फरक हुँदैन । राजनीति गनेहरुमा द्वेध चरित्र, मानसिकता र व्यवहार देखियो भने त्यस्ता राजनीति गर्नेहरुबाट मुलुकले केही पाउँदैन, उल्टै गुमाउँदै जान्छ ।

वास्तवमा राजनेताहरुले पनि जनताको दुःख, पीडा, मर्म, भावना बुझेर साँच्चै नै आफ्नो भूमिका जीवन्त र अमर तुल्याउने हो भने पहिला आफूलाई त्यस्तै बनाउन सक्नुपर्छ । टिलिक्क टल्कने सुट, टाइ र अनुहार देखिने गरी चम्किएका जुत्ता लगाएर, सडक कब्जा गरेर, एकले अर्कोलाई गर्नुसम्म गाली गरेर, दोषी देखाएर, आरोपी बनाएर आफू मात्र सच्चा नेता भएको भन्दै गरीब निमूखा जनताको हक, हित र अधिकारको कुरा गरेको देख्दा पैसा र चिनजानको भरमा हिरो बनेको सिनेमाको नायक जस्तै देखिन्छ ।

जनताको सुख, समृद्धिका लागि सडकमा उत्रेको भन्दै आफूलाई पदमा आसिन गराउने दर्जनौं नेताहरुले अहिलेसम्म देश र जनतालाई के दिए भन्ने यक्षप्रश्नको उत्तर उनीहरुसंग छैन । अहिले सत्तरुढ दल नेकपा विभाजित भएको छ । नेकपाको एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेका छन् । त्यो समूह अहिले सडकमा जनअधिकार र लोकतन्त्रका लागि भन्दै आन्दोलन गरिरहेको छ । त्यस्तै विपक्षी दल नेपाली कांगेस लगायत लगभग सबै दलहरु आन्दोलिनत छन् । विघटित संसद पुनःस्थापना हुनुपर्ने भन्दै उनीहरु सडक प्रदर्शन गरिरहेका छन् । बिरोधका नाममा, जनतालाई अधिकार दिने नाममा उनीहरुले जसरी जनतालाई नै सकस दिइरहेका छन् यही हा राजनीतिक जिम्मेवारीबोध नभएको चरित्र ।

जनतालाई सुख दिन्छौं भन्नेहरुले जनताको दुःखको अनुभूति गर्न सक्नुपर्छ । जसरी कुशल अभिनेताले आफ्नो भूमिकालाई न्याय गर्न आफूलाई पात्र अनुसार ढालेर मेहेनत गर्छ त्यस्तै राजनीति गर्ने ‘नेता’हरुले आफूले पाएको जिम्मेवारीमा सफल हुन त्यस्तै भूमिका निर्वाह गर्नुपर्छ । चिल्ला गाडी, चम्किला पोशाकमा ठाटिएर फाटेको कछाड र भोटोबाट मुस्किलले शरीर ढाकिरहेका जनताको प्रतिनिधित्व गर्दैन ।

आन्दोलन भनेको सुविधासम्पन्न शहरमा जनतालाई सास्ती दिएर सडक अबरुद्ध गर्नु मात्र हैन, गरीब जनताको हितमा काम गरेर उनीहरुको जीवनस्तर उकास्ने अभियान चलाउनु पनि हो । जनताको घरदैलोमा उनीहरुका दुःख, पीडा, समस्या बुझेर त्यसलाई अनुभूत गर्नु पनि हो । आजसम्म कुनै पनि नेताले तराईदेखि हिमालसम्मको गरीब, निमूखा, शोषित, पीडित जनताको पक्षमा नारा लगाउने र उनीहरुलाई सडकमा उतार्ने बाहेक केही काम गरेका छैनन् । नेपालमा राजनीति भनेको विना लगानी अकूत कमाउने पेशा बनेको छ । सडक ततायो, पुलिसको लट्ठी आयो, दुई चारदिन जेल बस्यो अनि ठूलो नेता बनेर निस्कियो, गरीब–दुःखीका पक्षमा नारा घन्कायो, पदमा पुगेपछि आफू, आफ्नो परिवार र नातागोताको गरीबी मेटायो ।

यत्तिका लागि क्रान्ति, आन्दोलन, संविधान चाहिएको थियो त ? खाद्यान्नमाथि जनताको अधिकार कुण्ठित हुँदा किन कोही बोलेन ? समानुपातिक प्रतिनिधित्वको संवैधानिक अधिकार किन पूरापुर पालना भएन ? राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको अवस्था कस्तो छ ? अहिले सडकमा नारा लगाउने महिलाहरुले आफ्नो पद र प्रतिष्ठाका लागि कराएजस्तै समग्र महिलाको हितमा सडक किन तताएनन् । जनताको स्वास्थ्य सुविधाको अधिकार कार्यान्वयन नहुँदा किन कुनै दलका नेताको मन छोएन ?

तर, संसद विघटन भएपछि अर्कोपटक के हो के हो भन्ने ठानेरै होला यसको बिरुद्धमा चर्का नारा लागेका छन्, जनप्रदर्शन भैरहेका छन् । के सत्ता र शक्ति प्राप्ति मात्रै संविधानको कार्यान्वयन हो ? संविधानले तोकेका मौलिक अधिकारहरु कार्यान्वयन हुन नसक्दा त्यो संविधान विपरीत हुँदैन र ? देशका बुद्धिजीवी, नागरिक अगुवा, अधिकारकर्मी, पत्रकार सबै सबै बलेको आगोको नजिक रहन चाहने भएकैले अहिलेको स्थिति आएको हो । यस्तो स्थिति आएसम्म नेपालको सडकमा बारम्बार रमिता भैरहन्छ !

सम्बन्धित खबर

Back to top button